गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए ।
गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए । देशमै रोजगारी नपाएपछि विदेशिएका उनले आगामी दशैँमा भने घर फर्केर विवाह गर्ने योजना सुनाएका थिए । श्रेष्ठ दम्पतीको पनि बुहारी भित्र्याउने सपना थियो । तर त्यो सपना सदाका लागि अधुरो मात्रै भएन छोरानै गुमाएपछि अहिले निशब्द छन् उनीहरु ।
अघिल्लो दिन अर्थात् शनिबार साँझसम्म ‘भिडियो कल’ मा कुराकानी गरेको छोरा भोलिपल्टै सदाका लागि अस्ताउँलान् भन्ने बुबाआमालाई थाहा हुने कुरै भएन । तर आइतबार संयुक्त अरब इमिरेट्समा इरानको ड्रोन आक्रमणमा परी श्रेष्ठको निधन भयो ।
मृतक दिवसका काका प्रदीप श्रेष्ठका अनुसार दिवस मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डका रुपमा दुबई पुगेका थिए । “अस्तिको दिन बेलुकीमात्र घरपरिवारसँग भिडियोमा कुराकानी भएको रहेछ । त्यहाँको अवस्था सामान्य भए पनि आकाशमा मिसाइल पड्किरहेको छ भनेर बुबालाई भनेको थियो रे”, काका प्रदीपले भने, “त्यसपछि फोन सम्पर्क नभएको रहेछ । उसका साथीभाइसँग बुझ्दा भागदौड भएर मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्ने खबर पाएका रहेछन् ।”
युएईस्थित नेपाली दूतावासबाट आज मात्रै छोराको मृत्यु भएको खबर औपचारिक रुपमा उनीहरुले प्राप्त गरे । दिवसको मृत्युको खबरले अहिले ठाँटी गाउँ शोकमा डुबेको छ । प्रदीप भन्छन्, “गाउँको युवा, सबैसँग मिल्ने, अत्यन्त इमान्दार, मिजासिलो थियो । उसको आमाबुबाको कोखै रित्तियो ।”
हाल गाउँमा बुबा चामबहादुर र दिवसका हजुरआमा छन् । आमा पवित्रा भने छोरी भेट्न काठमाडौँ गएको बोर्लाङका वडाध्यक्ष नारायण श्रेष्ठले बताए । “घरमा बेहाल छ । आमा र दिदी पनि यतै आउने कि बाबुको शव लिएर आउने भन्ने सल्लाह हुँदैछ । उताबाट शव कहिले आउँछ त्यसको पनि ठेगान छैन”, उनले भने ।
अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरिसकेको छ । उनको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।


















प्रतिक्रिया