१६ बैशाख २०८३, बुधबार | April 29, 2026

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन



ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले ११ केभी विद्युत् लाइन ढोरपाटन पुर्याएको जानकारी दिए । अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरेको भन्दै बिहीबारदेखि नियमित विद्युत् प्रसारण भएको उनको भनाइ छ ।

रु १५ करोड लागतमा ढोरपाटनमा विद्युत् पुर्याएको प्रमुख मरासिनीले बताए । ढोरपाटनसम्म लाइन पुगेपछि अब स्थानीयका घरघरमा पुर्याउने उनको भनाइ छ । ढोरपाटन जोड्ने ११ केभी प्रसारण लाइन बिहीबारदेखि चार्ज गरिएको उनी बताउँछन् ।

प्रमुख मरासिनीले भने, ‘पश्चिम बागलुङको बुर्तिबाङमा केन्द्रीय लाइन पुगेको केही वर्षमात्रै भयो, त्यसभन्दा माथि अधिकारीचौरसम्म दुई वर्ष अगाडि पुगेको थियो, यसपालि ढोरपाटनसम्मै पुर्याएका छौँ, अब सानो हाइड्रोपावरबाट विद्युत् सेवा पाएका नागरिकले केन्द्रीय लाइन बाल्न पाउनेछन् ।’

ढोरपाटन क्षेत्रमा एक बजार बढी घर दूरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनामार्फत विद्युतीय सेवा लिँदै आएका थिए ।

विसं २०६८ मा सञ्चालनमा आएको गर्पाखोला लघुजलविद्युत् आयोजना र पाँच वर्ष अगाडि आएको ढोरपाटन भुजीखोला लघुजलविद्युत आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले सास्ती भोग्दै आएको ढोरपाटन नगरपालिका-९ का अध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । केन्द्रीय लाइन आएपछि अब सहज हुने उनको भनाइ छ ।

अध्यक्ष घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ, खाल्डेखुल्डेलगायत करिब २५० बढी घरमा अहिलेसम्म विद्युत् नै नपुगेको बताए । स्थानीयले माग गरेपछि हामीले सहजीकरण गरेर लाइन जडान गर्ने उनी बताउँछन् ।

‘ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था छ, स्थानीयले टुकी र दियालो बालेर रात कटाउँदै आएका छन्, केन्द्रीय लाइन आयो, अब सहज हुनेछ’, अध्यक्ष घर्तीमगरले भने, ‘अब कोही पनि नागरिकले विद्युत सुविधा लिनबाट वञ्चित हुनुपर्ने छैन ।’

ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जलविद्युत्बाट पर्याप्त विद्युत् उत्पादन नहुँदा विद्युतीय मेसिन चलाउन नपाएको भन्दै अब कपडा धुने मेसिन, हिटरलगायत उपकरण चलाउन सकिने बताए । ढोरपाटनमा अत्यधिक चिसो हुने हुँदा बाह्रै महिना हिटर चलाउनुपर्ने अवस्था रहे पनि अहिलेसम्म स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा चलाउन नपाएको पुनले बताए ।

उनले भने, ‘पछिल्लो समय ढोरपाटनमा पर्यटकको आकर्षण बढेको छ, होटल व्यवसाय सञ्चालन गर्नेहरूका लागि केन्द्रीय विद्युत् नहुँदा निकै समस्या थियो, चिसो पानीमा कपडा धुनुपर्ने बाध्यता थियो, ठूलो मेसिन चलाउन पाएका थिएनौँ, अब सजिलो हुने भयो, पर्यटकले पनि लाभ लिन सक्ने भए ।’

विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय, आर्मी ब्यारेक र विद्यालयहरूमा पनि लाइन जोडिने भएको छ । ढोरपाटनमा पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

स्थानीय कुलबहादुर विकले स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा ढोरपाटनभरका बस्तीमा विद्युत् नपुगेको बताए । अब हरेक स्थानीयको घरका विद्युत् पुग्ने आस पलाएको उनको भनाइ छ । यहाँका अधिकांश स्थानीय बर्खायाममा ढोरपाटन र हिउँदमा बेँसी क्षेत्रमा बस्ने गर्छन् ।

बर्खाभरि अँध्यारोमा बस्न बाध्यता रहेको भन्दै अब उक्त समस्या समाधान हुने अपेक्षा लिएको विकले सुनाए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ८ : ०७ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात