३ भदौ २०८३, बुधबार | August 20, 2026

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने



पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

गरिब घरपरिवारको बिमा गर्ने सम्बन्धमा आज महानगर र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता भएको छ । महानगरपालिकाको अति तथा मध्यम गरिब घरपरिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार महानगरपालिकाका गरिब घरपरिवार पहिचान तथा परिचयपत्र विवरणमार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूचीबमोजिम आगामी विसं २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिनेछ ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको प्रतिपरिवार रु तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु सात सय बिमाबापतको रकम महानगरपालिकाले बिमा बोर्डलाई भुक्तानी गर्नेछ ।

महानगरपालिकाको निःशुल्क बिमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घरपरिवार पहिचानको सिफारिस र दर्ता सहयोगीमार्फत भरिएको दर्ता फारमसमेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ ।

यसरी पेस हुन आएका विवरणसहितका फारमहरू आवश्यक प्रक्रिया पूरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिने प्रमुख आचार्यले बताए । यस कार्यक्रमबाट महानगरपालिका क्षेत्रमा रहेका गरिबीको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास आचार्यले बताए ।

“आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठूलो राहत मिल्ने विश्वास लिएका छौँ । महानगरपालिका सम्पूर्ण नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको छ”, प्रमुख आचार्यले भने ।

महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि सुरुआतमा दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिने बताए । लक्षित वर्गलाई यस कार्यक्रममार्फत लाभ लिन महानगरपालिकाले अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ९ : ४८ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने