बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा भोलि वैशाख ७ गतेदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।
मन्दिर सेवा समितिले आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी महायज्ञको तयारीबारे जानकारी गराएको हो । समितिका अनुसार अधिकांश महायज्ञ आर्थिक संकलनका लागि गरिने प्रचलन रहे पनि यहाँ आयोजना हुन लागेको महायज्ञ विशुद्ध रूपमा ज्ञान आर्जनका लागि केन्द्रित रहनेछ ।
मन्दिर सेवा समितिका अध्यक्ष जीवनप्रसाद वझाले आर्थिक उद्देश्य नभई धार्मिक ज्ञान अभिवृद्धिका लागि महायज्ञ आयोजना गरिएको बताउँदै धर्मानुरागीहरूलाई सहभागी हुन आग्रह गरे ।
अक्षय तृतीयादेखि सुरु हुने महायज्ञमा देवघाटधामस्थित हरिहर सन्यास आश्रमका पीठाधीश तथा नेपाल सन्तसमाजका अध्यक्ष सन्त शिरोमणि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजबाट प्रवचन हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा मन्दिरका निवर्तमान अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, उपाध्यक्ष अरुण श्रेष्ठ र सचिव रविन्द्रनाथ पंगेनीलगायतले २०६२ सालमा नेपाली वास्तुकलामा निर्मित मन्दिर पश्चिम नेपालकै ऐतिहासिक महत्वको रहेको उल्लेख गर्दै यसको प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमअनुसार वैशाख ७ गते बिहान ७ बजे कलश यात्रा हुनेछ । दैनिक बिहान ७ देखि ११ बजेसम्म पाठपारायण, ११ः१५ देखि १२ बजेसम्म भजन-कीर्तन, दिउँसो १ देखि ४ बजेसम्म कथा प्रवचन, ४ बजे आरती तथा प्रसाद वितरण र साँझ ५ देखि ६ बजेसम्म नित्य भजन-कीर्तन सञ्चालन गरिनेछ ।


















प्रतिक्रिया