बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उच्चस्तरीय भेटवार्ता भएको छ ।
भेटवार्ता हुनुअघि राष्ट्रपति सी जिनपिङले ग्रेट हल अफ द पिपुलको सिँढीबाट तल झरेर रेड कार्पेटमा ट्रम्पलाई स्वागत गरेका थिए । स्वागत समारोहमा चिनियाँ सैनिक सम्मान गारद पनि तैनाथ गरिएको थियो ।
ग्रेट हल अफ द पिपुल चीनको राजधानी बेइजिङको तियानआनमेन स्क्वायरको पश्चिममा अवस्थित सरकारी भवन हो । यहाँ चीनका प्रमुख सरकारी कार्यक्रम तथा विदेशी राष्ट्राध्यक्षहरूको स्वागत गरिन्छ ।
ट्रम्प बुधबार बेइजिङ पुगेका थिए । उनलाई चीनका उपराष्ट्रपति हान झेङले बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यसपछि ट्रम्प फोर सिजन्स होटलमा बसेका थिए । बिहीबार उनको औपचारिक कार्यक्रमको पहिलो दिन हो ।
आजको कार्यक्रमअनुसार ग्रेट हल अफ द पिपुलमा स्वागत समारोह, ट्रम्प र सीबीच द्विपक्षीय वार्ता तथा साँझ राजकीय भोज आयोजना हुनेछ ।
ट्रम्पको प्रतिनिधिमण्डलमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङसहित विभिन्न प्रविधि कम्पनीका शीर्ष अधिकारीहरू सहभागी छन् ।
यसैबीच, चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले अमेरिका-चीन सम्बन्धलाई नयाँ ढंगले पुनर्स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ती सञ्चारमाध्यमका अनुसार बेइजिङले चार संवेदनशील विषयलाई आफ्नो स्पष्ट ‘रेड लाइन’का रूपमा पुनः दोहोर्याएको छ ।
चीनले औँल्याएका चार ‘रेड लाइन’मा ताइवानको प्रश्न, लोकतन्त्र तथा मानवअधिकार, चीनको राजनीतिक प्रणाली र चीनको विकासको अधिकार-विशेषगरी प्रविधि विकास-समावेश छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका पिपुल्स डेलीले लेखेको छ, “चीन–अमेरिका सम्बन्ध विगतमा फर्कन सक्दैन, तर अझ राम्रो भविष्यतर्फ अघि बढ्न सक्छ ।”
सरकारी समाचार संस्था सिन्ह्वाले विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको आपूर्ति श्रृंखला अझै पनि गहिरो रूपमा जोडिएको उल्लेख गर्दै आर्थिक सहकार्यको महत्त्वमा जोड दिएको छ ।
विश्वका दुई शक्तिशाली राष्ट्रका नेताबीचको यो भेटलाई व्यापार, प्रविधि, सुरक्षा र भू–राजनीतिक प्रतिस्पर्धाका बीच सम्बन्ध सुधारको सम्भावनाका रूपमा हेरिएको छ । ताइवान, व्यापार विवाद, प्रविधि प्रतिबन्ध र मानवअधिकारका विषयमा बढ्दो तनावका बीच बेइजिङ वार्तामार्फत सम्बन्धलाई नयाँ दिशा दिन इच्छुक देखिएको छ ।
करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो । सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो चीन भ्रमणसमेत हो ।




















प्रतिक्रिया