५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

खजुरामा पनि सडक विस्तार गर्न स्थानीयको माग



नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी मीलसम्मको २ किलोमिटर सडक खण्डमा यतीबेला स्वस्फुर्त अतिक्रमण हटाउने क्रम तिब्र पारिएको छ । नेपालगन्ज उपमहानगरपालिका र हुलाकी सडक निर्देशनालयबाट १५ दिने सूचना जारी भएसँगै अधिकांस घरधनी र टहरामा बसोबास गरिरहेकाहरुले आफै सडक खण्डमा पर्ने जग्गा खाली गर्न थालेका हुन् ।

हलाकी राजमार्गको धम्बोझी चोक देखि गुलरिया जाने मुख्य बाटोमा पर्ने नन्दनी मिलदेखि गुलरियासम्म अधिकांश भाग चार लेनमा विस्तार भइसके पनि नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्म करिब दुई किलोमिटर सडक परम्परादेखिकै दुई लेनमै सीमित हुँदा साँघुरो र अस्तव्यस्त अवस्थामा थियो । दलहरुको राजनीतिक संरक्षणमा स्थानीयले अतिक्रमण नहटाउँदा २ किलोमिटर सडक खण्डहर जस्तै बन्न पुगेको थियो । अव्यवस्थित संरचना र जथाभावी पार्किङका कारण सो खण्ड लामो समयदेखि समस्या बनेको थियो।

सडक अतिक्रमण हटाउने कार्यमा संघीय सरकार सकारात्मक बनेसँगै हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जले सो सडक विस्तारमा सक्रियता देखाएको हो । यसअघि अतिक्रमण हटाउने कार्यमा अनिच्छुक जस्तै देखिएको नेपालगन्ज उपमहानगरपालिकाले पनि सडक विस्तारमा सहयोगी भूमिकामा अग्रसर भएपछि अघिल्लो महिनामा हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्ज र उपमहानगरका प्राबिधिकहरुले सडक सीमा छुट्याएर चिन्ह लगाएको थियो । सीमा निर्धारणसंगै योजना कार्यालयबाट गोरखापत्रमा सूचना प्रकाशित गर्ने, स्थानीय घरदैलोमा सूचना टाँस गर्ने र माइकिङ गर्ने कार्यगरेपछि स्थानीयले स्वस्फुर्त अतिक्रमण हटाउन थालेका हुन् ।

आफ्नो संरचना भत्काउँदै गरेका एकजना स्थानीयले पटक पटक संरचना हटाउन लगाइएको प्रति असन्तुष्टी प्रकट गरे । विरोध गर्दा विकास विरोधी भइने भन्दै उनले नाम भने नछाप्न आग्रह गरे । यसअघि नै एकै पटक सीमा निर्धारण गरि संरचना हटाउन लगाउनुपर्नेमा पटक पटक सार्दा स्थानीयमा व्ययभार बढेको उनको भनाई छ । यसअघि १० मिटरको सीमा कायम गरि संरचना हटाउन लगाइएको र अहिले पुनः १५ मिटरको सडक सीमा कायम गरिएको उनले बताए ।

सडक विस्तारका लागि हुलाकी सडक योजना कार्यालयले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख र सम्बन्धित क्षेत्रका वडाध्यक्षसँग चारबुँदे लिखित समझदारी गरिसकेको जनाएको छ। सहमतिअनुसार सडकको केन्द्रबिन्दुबाट दायाँ र बायाँ १५–१५ मिटर गरी जम्मा ३० मिटरको ‘राइट अफ वे’ खाली गराइने छ।

प्राविधिक तथ्याङ्क अनुसार यो सडक खण्ड विस्तार गर्दा १ सय ५९ वटा घर–टहरा सडकसीमाभित्र परेका छन्। यस पटक पनि नेपाल राष्ट्र बैङ्कको कम्पाउन्ड वाल सडक विस्तारको दायरामा परेको छ ।

सडकसीमा खाली भएसँगै हुलाकी राजमार्गअन्तर्गत पर्ने १ हजार ९ सय मिटर लामो धम्बोझी चोकदेखि नन्दनीमील सडक सम्मको सडक खण्डलाई चार लेनमा स्तरोन्नति गरिने हुलाकी राजमार्ग, योजना कार्यालय, नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले बताए । नयाँ खरिद ऐनमा ‘राइट अफ वे’ खाली नहुँदा सम्म ठेक्का नखुल्ने व्यवस्था भए अनुसार पहिल्यै ‘राइट अफ वे’ खाली गराउन थालिएको जानकारी दिए ।

१-२ दिनभित्रमा डिपीआर सर्वे गरिने जानकारी दिँदै भण्डारीले सम्भवत जेठ मसान्त अगाडी नै ठेक्का आह्वान हुने बताए । भण्डै २० करोड अनुमान गरिएको १ हजार ९०० मिटर सडकको स्रोत सुनिश्चित भएको समेत उनले बताए ।

धम्बोझी खण्डको सडक ४ लेनको निमाणसँगै खजुरा बजार क्षेत्रको सडक पनि सोही मापडण्डको बन्नुपर्ने खजुराका स्थानीय रोसन सापकोटाले बताए । पुराना दलहरुको संरक्षणमा पहिलेको ठेकेदारले अलपत्र र गुणस्तरहिन बनाएको १ हजार ८०० मिटर सडकलाई हुलाकी राजमार्गकै सडक सीमाको मापदण्ड अनुसार बनाउन सापकोटाले माग गरे ।

नेपालगन्ज गुलरिया सडक खण्डका अधिकांस भाग ४ लेन सहित ३० मिटरको ‘राइट अफ वे’ मा निर्माण भएपनि खजुरा बजार क्षेत्रको १ हजार ८०० मिटर खण्डमा भने २४ मिटर ‘राइट अफ वे’ कायम गरि सडक बनाइएको छ । अमुक केही पुराना दलका नेताहरुको घर जोगाउन खजुरा बजार क्षेत्रलाई साँघुरो बनाइएको उनले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  १० : २९ बजे

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५