१८ कार्तिक २०८३, बुधबार | November 5, 2026

कालीगण्डकी करिडोर : अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो



म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

योजना प्रमुख तेजस्वी शर्माले दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम सातपटक म्याद थप गर्दा पनि नसकेको निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको ठेक्का तोडेर अधुरो काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

“सातौँपटक थपिएको २०८२ असोज २५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्नेमा म्याद सकिएको २०० दिन पुग्दासमेत कम्पनीले प्रतिबद्धता र शर्त पालनामा जिम्मेवार नदेखिएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) को आधारमा ठेक्का अन्त्य गरिएको हो”, उहाँले भन्नुभयो, “८५ प्रतिशत भौतिक प्रगति भएको कोवाङ–जोमसोम खण्डको बाँकी काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाउँछौँ ।”

विसं २०६४ मा मार्ग खुलेको सडक चक्लाउने, पर्खाल, नाली बनाउने र ११ मिटर चौडाइका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७४ साल जेठ ९ गते उक्त कम्पनीसँग रु ७० करोडमा ठेक्का सम्झौता भएको थियो । पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि ११ खण्डमा सञ्चालित आयोजनामध्ये कोवाङ–जोमसोम खण्डमात्र अलपत्र बनेको हो ।

आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि कम्पनीलाई ठेक्का तोड्नुअघि कुल ठेक्का सम्झौता लागतको ०.०५ प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ । थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी ढलान बाँकी छ ।

साथै सोहीखण्डको मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब एक हजार २०० मिटर कालोपत्र गर्न बाँकी रहेको छ । जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र गर्न बाँकी रहेको छ । अन्य ठाउँमा कालोपत्र र ढलान भइसकेको छ । कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ ।
रासस

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ४ : १४ बजे

बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत्

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा

जनकपुरधाम-अयोध्या रेल सञ्चालनको तयारी तीव्र, भोलि निरीक्षण

जनकपुरधाम । नेपालको जनकपुरधामदेखि भारतको अयोध्यानसम्म सञ्चालन हुने भनिएको आयोजना