११ श्रावण २०८३, सोमबार | July 27, 2026

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन



भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्षदेखि आयोजना सुरु गरिएको हो ।

आयोजना सम्पन्न भएपछि यहाँको दीर्घकालीन पानी अभाव अन्त्य हुने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत हालसम्म २० घनमिटर क्षमताको एक पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सबइन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुईवटा ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी रहेको छ ।

‘काम चरणबद्ध रूपमा अघि बढिरहेको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्रै सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी नियमित पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।’ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार यस आयोजनाको अनुमानित लागत करिब रु एक करोड रहेको छ । आयोजना सम्पन्न भएपछि बजार क्षेत्र पर्ने करिब २५ घरपरिवारले प्रत्यक्ष रूपमा पानीको उपभोग गर्न पाउनेछन् ।

स्थानीय बासिन्दाका अनुसार सुन्तले क्षेत्रमा वर्षात्को समयमा पानीको अभाव खासै नदेखिए पनि हिउँदका करिब पाँच महिना गम्भीर समस्या रहने गरेको छ । टाढाटाढाबाट पानी बोक्नुपर्ने बाध्यता, असुरक्षित स्रोतमा निर्भरता र समयको धेरै खर्च हुने भएकाले स्थानीयको दैनिकीमा चुनौती बनेको थियो ।

स्थानीय दशरथ राईले आयोजना सम्पन्नपछि यो समस्या स्थायी रूपमा समाधान हुने बताए। ‘हामीले वर्षौँदेखि पानीको दुःख भोग्दै आएका छौँ, अब लिफ्ट आयोजना पूरा भएपछि घरमै धारा आउनेछ । हाम्रो जीवनशैली सहज हुन्छ भन्ने आशा छ’, उनले भने ।

त्यसैगरी, अर्का स्थानीय खगेन्द्रकुमार ओझाले विशेषगरी हिउँदयाममा पानी अभाव चरम हुने गरेको बताए। पानी अभावमा यहाँ आउने पर्यटकलाई पनि असहजता हुने गरेकामा अब त्यो समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गरे।’पाँच महिनासम्म निकै समस्या हुन्थ्यो’, उनले भने, ‘पानी ल्याउन धेरै समय खर्चनुपर्थ्यो । खानेपानी आयोजनाको सुरु भएपछि हामी उत्साहित भएका छौँ यो आयोजना पूरा भएपछि त्यो समस्या हट्ने अपेक्षा गरेका छौँ ।’

लिफ्ट प्रविधिबाट सञ्चालन हुने यस आयोजनाले बस्तीभन्दा तल रहेको मुहानको पानीलाई मोटर प्रणालीमार्फत माथिल्लो बस्तीमा पुर्‍याइने छ । सुन्तले क्षेत्र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण बन्दै गइरहेको छ ।

यो आयोजना सम्पन्न भएपछि सुरक्षित, स्वच्छ र नियमित खानेपानी सुविधासँगै सुन्तले क्षेत्रको समग्र विकासमा पनि टेवा पुग्ने स्थानीयको भनाइ छ । स्वच्छ खानेपानीको उपलब्धताले पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ६ : ५५ बजे

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको