२० बैशाख २०८१, बिहिबार | May 3, 2024

नेपालीको औसत तलब २० हजार मात्रै



काठमाडौं । नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो देखाएको हो ।

हालै सार्वजनिक कर्मचारीको तलब तथा पारिश्रमिकसम्बन्धी एक छुट्टै प्रतिवेदनले देशैभर जागिरेका रूपमा कार्यरत कर्मचारीको मासिक तलब २० हजार ५४३ रुपियाँ रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घसंस्थामा तलब पाउने गरी संलग्न छन् ।

संस्थाको प्रकृति अनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको छ । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ छ भने मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय ।

त्यस्तै साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीले मासिक औसत १६ हजार ७६८ रुपियाँ तलब बुझ्ने गरेको पाइएको छ । लघु संस्थामा कार्यरत कर्मचारीले १६ हजार एक सय रुपियाँ तलब पाएको देखिएको छ ।

ठूला संस्था र लघु प्रकृृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै साढे १० हजार रुपियाँभन्दा बढी छ । संस्थागत रूपमा ठूला संस्सथाले वार्षिक एक खर्ब ७५ अर्ब, मध्यमले ३९ अर्ब ५९ करोड, सानाले एक खर्ब १० अर्ब र लघु प्रकृतिका संस्थाले ९६ अर्ब ५५ करोड वार्षिक तलबबापत खर्च गरेको उल्लेख छ ।

अध्ययनमा समेटिएका कुल कर्मचारीको तलबमा मात्रै वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिन्छ । यद्यपि अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबको हिस्सा निकै कम हो । देशैभर गरी प्रतिवेदनले समेटेका दुई लाख १९ हजार तीन सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको छ ।

त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ भएको देखिन्छ । बाँकी सात खर्ब दुई अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । कुल आर्जनमध्ये नाफाको हिस्सा २८.३ प्रतिशत छ ।

त्यस्तै तलबबापतको खर्च भने कुल आर्जनमा केवल १६.९ प्रतिशत मात्र देखिन्छ । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँले बढी छ ।

अध्ययनले संस्थामा कार्यरत प्रबन्धकदेखि नियमित ६ महिनादेखि काम गरिरहेका र अस्थायी कर्मचारीको तलबलाई समेत समेटेको छ । नगदका रूपमा उपलब्ध गराइने पारिश्रमिक तथा तलब, दशैँ तथा अन्य चाडवाडका समयमा उपलब्ध गराइने बोनस, अवकाश भत्ता, सामाजिक सुरक्षामा रोजगारदाताले गरिदिएको योगदान समेतलाई तलबका रूपमा समेटिएको अध्ययनमा उल्लेख छ ।

केन्द्रीय बैङ्क, हुलाक कार्यालय, सार्वजनिक विद्यालय जस्ता सरकारी कार्यालयको हकमा त्यहाँका अधिकृतको समेत तलब यसमा समावेश गरिएको छ ।

अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरेर त्यसैअनुसार तथ्याङ्क सङ्कलन गरिएको छ । त्यसमध्ये दर्ता भएर सञ्चालनमा आएका उद्योगले वार्षिक चार खर्ब छ अर्ब रुपियाँ तलब वितरण गर्ने पाइएको छ । दर्ता नभई सञ्चालनमा रहेका उद्योगले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको छ ।

पुरुष मात्रै प्रबन्धक रहेका संस्थाको वार्षिक तलब खर्च तीन खर्ब ७९ अर्ब देखिएको छ भने महिला मात्रै प्रबन्धक रहेको संस्थाको तलबबापत ३५ अर्ब ७५ करोड रुपियाँ रहेको छ ।

त्यस्तै पुरुष मात्रै सञ्चालक रहेका संस्थाको रूपमा वर्गीकरण गर्दा त्यस्ता संस्थाको तलब खर्च दुई खर्ब ५९ अर्ब देखिएको छ ।

महिला सञ्चालक मात्रै रहेको संस्थाको यस्तो खर्च भने वार्षिक २४ अर्ब तीन करोड रुपियाँ रहेको प्रतिवेदनले उल्लेख गरेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : ४४ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक