सप्तरी । छठ पर्वको तेस्रो दिन आज साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । राजविराजस्थित भगवती, कल्टुदास, झल्ही, तुरन्ती र तेतरी गाछीलगायत जिल्लाका विभिन्न पोखरी, नदी तथा जलाशयमा भेला भएका व्रतालुले विधिपूर्वक सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् ।
छठ पर्वका अवसरमा जलाशयका घाटलाई आकर्षक रूपमा सिँगारिएको थियो । शुक्रबार नहाय(खाय विधिबाट सुरु भएको पर्वको दोस्रो दिन शनिबार व्रतालुले दिनभर उपवास बसेर राति खरना विधि पूरा गरेका थिए । त्यसपछि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलाञ्चलमा ‘सझिया अरख’ भनिन्छ ।
छठका लागि व्रतालु तथा परिवारका सदस्यले घरमै ठेकुवा, भुसुवा, खजुरी र पुडुकियालगायत परिकार तयार गरी नरिवल, फलफूल, मिठाइ र उखुसहितका सामग्री कोनिया, ढक्की तथा नाङ्लोमा सजाएर घाटमा लैजाने गर्छन् । राजविराज नगरपालिका(२ की व्रतालु पुनम देवले परिवारका सदस्यले पूजाका सामग्री घाटमा पुर्याएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको बताए ।
व्रतालु रातभर घाटमै बसेर छठी माताको पूजा आराधना तथा भक्ति गीत गाउने परम्परा छ । पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सम्पन्न हुनेछ । बिहानको यस विधिलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
सूर्यदेव र छठी माताको आराधना गर्दा मनोकामना पूरा हुने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने तथा सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहेको राजदेवी मन्दिरका पुजारी भोलानाथ चौधरीले बताए ।
















प्रतिक्रिया