काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजार बुधबार भने स्थिरजस्तै अवस्थामा रह्यो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक केवल ०.०८ अंकले बढेर २७०५ अंकमै कायम रह्यो।
यसअघि नेप्से मंगलबार ६ अंक, सोमबार १२ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले घटेको थियो। बुधबार बजारमा उतारचढाव न्यून देखिएको छ। यद्यपि, कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब ६१ करोड रुपैयाँमा सीमित रह्यो। दिनभर १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको मूल्य घट्यो भने १६ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकतर्फ अधिकांश क्षेत्र सामान्य उतारचढावमा सीमित रहे। बैंकिङ समूह ०.१८ प्रतिशत, होटल तथा पर्यटन ०.६४ प्रतिशत, जीवन बीमा ०.०७ प्रतिशत, माइक्रोफाइनान्स ०.०४ प्रतिशत, निर्जीवन बीमा ०.५५ प्रतिशत, अन्य समूह ०.०८ प्रतिशत तथा व्यापार समूह ०.६० प्रतिशतले घटे।
त्यस्तै उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशत, लगानी ०.५३ प्रतिशत, जलविद्युत् ०.३० प्रतिशत तथा फाइनान्स समूह ०.१४ प्रतिशतले ओरालो लागे। विकास बैंक समूह भने ०.४६ प्रतिशतले बढ्दै हरियो रह्यो।
बजारमा सूचीकृत दुई नयाँ कम्पनीको सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५–१५ प्रतिशतले बढ्यो। यससँगै सोपान फर्मास्युटिकल्सको प्रतिकित्ता मूल्य ८०८ रुपैयाँ ५० पैसा र एपोलो हाइड्रोपावरको ६९२ रुपैयाँ ७० पैसा पुगेको छ।
अन्य कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ४.२४ प्रतिशतले बढ्दा दोल्ती पावर ३.३५ प्रतिशत र कालिन्चोक हाइड्रोपावर २.६१ प्रतिशतले घटे।
कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर तथा आँखुखोला जलविद्युत् कम्पनी परेका छन्।



















प्रतिक्रिया