२० असार २०८३, शनिबार | July 4, 2026

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो



दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँचमध्ये वेपत्ता चार जनाको पहिचान खुलेको छ।

तीमध्ये एक जनाको शव फेला परेर परिवारलाई जिम्मा लगाइएको छ । अन्य चार जनाको अवस्था अझैसम्म पनि अज्ञात रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनामा परेकामध्ये कालिकोटको पचालझरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरुवाको शव घटनास्थल नजिकै भीरमा अड्किएको अवस्थामा फेला परेको थियो। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिएका छन्।

हालसम्म बेपत्ता रहेका चार जनामा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका चालक तुलाराम (तुलसीराम) सुबेदी, उनका सहचालक तथा दाइ रामप्रसाद सुबेदी, कालिकोटको रास्कोट नगरपालिका–२ खड्कागाउँकी सिर्जना खड्का तथा कालिकोटकै पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा रहेका छन्।

प्रहरीका अनुसार गाडीमा यी पाँच जनाबाहेक थप यात्रु सवार थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरी यात्रुको विवरण संकलन तथा अनुसन्धान जारी रहेको छ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी तथा विभिन्न जिल्लाबाट परिचालित उद्धार टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरिरहेका छन्। नदी किनार तथा सम्भावित स्थानहरूमा गोताखोर परिचालन गरिएको छ भने शनिबार सोनार क्यामेरा र शक्तिशाली म्याग्नेटसहितको विशेष उपकरण प्रयोग गरेर समेत खोजी गरिएको प्रहरीले जनाएको छ।

गत असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि निरन्तर खोजी अभियान जारी रहे पनि गाडी र बेपत्ता चार जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १२ : ३२ बजे

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा