काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी भूभागमा सरदर स्थानकै आसपास रहेको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेस प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
देशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि रहेको छ ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ । साथै कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले नदी-नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानका बासिन्दालाई विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अवलोकन गर्न अनुरोध गरेको छ ।



















प्रतिक्रिया