३० असार २०८३, मंगलबार | July 14, 2026

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द



काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख सडक मार्गहरू बन्द भएका छन् । विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदी-खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन रोकिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै नागढुंगा तथा फर्पिङ-दक्षिणकाली नाकाबाट हुने सवारी आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । अविरल वर्षाका कारण सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले यस्तो निर्णय गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, देशको प्रमुख राजमार्गमध्ये एक नारायणगढ-मुग्लिन सडकखण्ड पनि अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार लगातारको वर्षापछि सडकका विभिन्न स्थानमा पहिरो खसेकाले सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको हो ।

प्रशासनले जारी गरेको सूचनामा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएकाले वैकल्पिक व्यवस्था नभएसम्म यात्रामा ननिस्कन आग्रह गरिएको छ । साथै, रुपन्देही, पूर्वी नवलपरासीलगायत क्षेत्रबाट काठमाडौंतर्फ आउने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरिएको छ ।

यता काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने छोटो मार्गका रूपमा परिचित बीपी राजमार्ग पनि बन्द भएको छ । रोशी खोलामा आएको बाढीका कारण सोमबार दिउँसोदेखि धुलिखेल-खुर्कोट सडकखण्डमा सवारी सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी रविन विष्टका अनुसार मौसममा सुधार आएर थप पहिरो नझरे मंगलबारदेखि सडक सञ्चालनमा ल्याउने प्रयास गरिनेछ ।

प्रहरी र प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायको पछिल्लो सूचना लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : ०५ बजे

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

अविरल वर्षाले नवलपुरमा डुबान र पहिरो, नौ घरपरिवार प्रभावित

नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा