नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी । विद्यार्थीहरु अध्ययनको बहानामा होस् वा युवाहरु रोजगारीका नाममा दिनहुँ विदेश जानेको लर्कोमा कुनै कमि आएको छैन । थोरै संख्यामा स्वदेश मै रहेका युवाहरुले पनि बाबुआमाको बिँडो धान्न ईच्छुक देखिँदैनन् । बाबुआमाले गरेको पेशा बाहेकका पेशामा नै उनीहरु रम्ने गरेका हुन्छन् ।
बर्दिया बढैयाताल गाउँपालिका-८, सितलाबजारका ३४ वर्षिय सन्तोष श्रेष्ठले भने पुर्ख्यौली पेशालाई शानदार निरन्तरता दिएका छन् । पिता देवनाराण श्रेष्ठले सुरुवात गरेको राङ्गो (पाडा) काटेर मासु बेच्ने पेशालाई सन्तोषले निरन्तरता दिएका हुन् । २०३३ सालमा लमजुङबाट बसाई सरेर आएका देवनाराण श्रेष्ठले सितलाबजारमा रहेक केही नेवार समुदायलाई लक्षित गर्दै पाडाको मासु बेच्न सुरु गरेका थिए । बजार आसपास र बर्दियाको गुलरिया सम्म मासु बेच्ने गरेका देवनारायणले सुरु गरेको पेशालाई उनका छोरा सन्तोषले बाँके, बर्दिया देखि काठमाडौं सम्म पाडाको मासु पठाएर विस्तार गरेका छन् ।
बुवाले आइतबार र बुधबार पाडा काटेर मासु बिक्रिवितरण गर्ने गर्दथे, तर सन्तोषले भने चाडपर्वले बर्जित गरेको दिन बाहेक हरेकदिन पाडाको मासु बिक्री वितरण गर्ने गरेका छन् । सितलाबजारदेखि पूर्व आफ्नै घरमा बधशाला संचालन गरेका सन्तोषको मासुपसलमा बाँकेको कोहलपुर, नेपालगन्ज, राँझा देखि बर्दियाको राजापुर, ताराताल सम्मका ग्राहकहरु मासु लिन पुग्दछन् । बर्दियाबाट काठमाडौं जाने स्थानीयले समेत उनको पसलबाट मासु लिएर कोशेली लगिदिने गरेको उनले बताए ।

प्रत्येक दिन ७० देखि ८० केजी पाडाको मासु उनको बधशालाबाट बिक्री हुने गरेको सन्तोषले बताए । उनले बधशालाकै छेउमा १०-१२ वटा पाडा बाँधेका छन् । पाडा घट्दै गर्दा किसानहरुले आफै उनको बधशालासम्म पाडा ल्याएर दिने गर्दछन् । किसानहरुले समयमै आफुले पालेको पाडाको भुक्तानी पाउने गरेकाले उनलाई पाडाको कमी भएको छैन । अघिल्लो वर्ष सम्म सिमापारीबाट समेत उनकोमा किसानहरुले पाडा बेच्न ल्याउने गरेकोमा भारतमा नै बधशाला स्थापना भएपछि पछिल्लो समय भारतबाट पाडा आउन छाडेको उनले बताए । उनका अनुसार अहिले नेपालबाट भारत तर्फ राङ्गो अबैध निकासि हुने गरेको छ । ‘पारीबाट पाडा आउँदा केही सस्तोमा पाईन्थ्यो, उतै काटिने थालेपछि अचेल आउन छाड्यो,’ उनले भने, ‘नेपाली किसानको पाडा केही महङ्गो पर्छ ।’
बिहानभरी उनले घरमै मासु तयार गर्छन् । अधिकांस दिनहरुमा उनको घरबाटै मासु सकिने गरेपनि बचेको मासु भने उनले सितलाबजारको रेष्टुरेन्टबाट बिक्री वितरण सहित खपत गर्ने गरेका छन् । सितलाबजारमा उनको नेवारी स्पेसल खाजा घर संचालनमा रहेको छ । ताजा पाडाको भुटुवा, थिचुवा, सुकुटी खानका लागि हुलाकी राजमार्ग हुँदै यात्रा गर्ने ग्राहकहरु उनको खाजाघरमा रोकिने गर्दछन् ।
८ जनाको परिवारको सम्पूर्ण खर्च गरेपनि वार्षिक १० देखि १५ लाख बचत हुने गरेको उनले बताए । घरमा रहेका परिवारका सबै सदस्यहरु मासु र रेष्टुरेन्ट संचालनमा नै क्रियाशील रहँदै आएका छन् । साथीभाईहरु सबै बैदेशिक रोजगारीमा गएपनि आफुलाई विदेश जाने रहर कहिल्यै नलागेको उनले बताए । बुवा, आमाको प्रेरणा र सन्तोषजनक आम्दानीका कारण विदेश जान आवश्यक नदेखेको उनको भनाई छ ।
प्रत्येक्ष आँखै अगाडी पाडा काटेको मासु किन्न पाईने भएकाले उपभोक्ताको पहिलो रोजाई सन्तोषको मासुपसल बनेको मासु लिन मैनापोखराबाट पुगेका प्रदीप कर्माचार्यले बताए । एकाबिहानै पुगेमात्र रोजे अनुसार मासु पाईने र केही अवेर गर्दा मासु नै सकिने वा अरुले रोजेर छाडेको मासु किन्नु पर्ने अवस्था रहेको उनले बताए । नेपालगन्जबाट मासुलिन सितलाबजार पुगेका अधिकांसले सन्तोषको रेष्टुरेन्टको पनि स्वाद लिएर फर्कने गरेको कर्माचार्यले बताए ।
नयाँ पुस्तामा काम गर्न लाज मान्ने प्रवृत्तिलाई चिर्दै सन्तोषले पुख्र्यौली पेशालाई कुशलतापूर्वक निरन्तरता दिएका छन् । आम्दानी र आत्मसन्तुष्टी दुबै प्राप्त भएको कारण बुवाले थालेको पेशालाई निरन्तरता दिएको उनको भनाई छ । ‘काम ठुलो सानो हुँदैन,’ उनले भने, ‘काम गर्ने जाँगर र लगनशिलता हुनु पर्छ, नेपाल मै प्रसस्त सम्भावना छ ।’




















प्रतिक्रिया