२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान



काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ ।

झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन। उक्त निर्देशनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसी संयोजकत्वको समितिले आज स्थलगत प्रतिवेदन तयार बुझाएको हो ।

प्रतिवेदनअनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक, टुकुचा खोलाको सतह बढेकाबेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतिर फर्कने ९ब्याक फ्लो० समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । भौतिक पूर्वाधारबाहेक वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारण प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ ।

विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालयलगायत ठूला भवन निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।

अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचना निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिटी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ । यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डङ्गोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन ।

प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदम सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केहीबेर भण्डारण गरेपछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ ।

त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जिआइएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाका आधारमा ढलको क्षमता पुनःडिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : ११ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार