१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै



बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने नारासहित स्थापित नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औँ र १४ औँ वार्षिक साधारणसभा भोलि (शनिबार) बुटवलमा हुने भएको छ ।

साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष अर्जुन रसाइलीले दिएका हुन् । उनका अनुसार कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले गर्नेछन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष रसाइलीले हाल सुनको कारोबार अपेक्षाअनुसार हुन नसकेको बताए । उनका अनुसार दैनिक २५ किलोग्रामसम्म सुन आयात गर्न सकिने व्यवस्था भए पनि अहिले सात किलोग्रामभन्दा बढी आयात हुन सकेको छैन । बजारमा सुनको माग घटेकाले वाणिज्य बैंकमा सुन मौज्दात बढ्दै गएको उनले बताए ।

सुनको बिक्रीमा आएको मन्दीका कारण व्यवसायीले सुनको व्यवस्थापनमा समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले यस विषयमा नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।

रसाइलीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेपालमा पनि ‘गोल्ड बैंक’को अवधारणा लागू गर्न आवश्यक रहेको बताए । यसका लागि उत्पादनमूलक कम्पनी स्थापना गरी सुनको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

राज्यले विलासिता कर हटाएर सीप प्रवर्द्धन शुल्कका रूपमा ०.५ प्रतिशत कर कायम गरेको निर्णयलाई महासंघले सकारात्मक रूपमा लिएको उनले बताए । सरकारले व्यवसायको ट्र्याकिङ गर्ने उद्देश्यले ल्याएका करसम्बन्धी व्यवस्थालाई पनि महासंघले स्वीकार गर्ने स्पष्ट पारे ।

तर, भारतमा सुन आयातमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने हुँदा नेपालमा २० प्रतिशत शुल्क कायम रहँदा यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्ने भएकाले उक्त शुल्क पुनरावलोकन गर्न सरकारसँग आग्रह गरिएको उनले बताए ।

अध्यक्ष रसाइलीका अनुसार नेपालमा करिब ८० हजार बंगलादेशी कालिगढ सुनचाँदी व्यवसायमा कार्यरत छन् भने नेपाली दक्ष जनशक्ति विदेशिने क्रम बढ्दो छ । नेपाली युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारमा आकर्षित गर्न तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने योजना महासंघले अघि सारेको उनले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा साधारणसभा मूल आयोजक समितिका संयोजक दिनेशरत्न शाक्यले सुन आयात तथा बिक्री-वितरण कार्यविधि, २०६८ अनुसार नेपालमा वाणिज्य बैंकमार्फत मात्रै सुन आयात हुने व्यवस्था रहेको बताए । कार्यविधिअनुसार नै सुनको मूल्य निर्धारण हुने भए पनि अन्तर्राष्ट्रिय बजारसँग मूल्य समायोजनमा बेला-बेलामा समस्या आउने गरेको उनको भनाइ थियो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष मोहन सुनार र प्रवक्ता जीवनज्योति सदाशंकरले सुनचाँदी व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले आवश्यक नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

महासंघका अनुसार वार्षिक साधारणसभामा देशभरका ८४ जिल्ला तथा नगर संघ, वस्तुगत संघ र २३ वटा एसोसिएसनका प्रतिनिधिसहित करिब ७ सय प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  २ : ३२ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने