२५ श्रावण २०८३, सोमबार | August 10, 2026

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित



काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।

प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थली, नार्केस्थित बिपी राजमार्गमा आज बिहान ४ः०० बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँझ १८ः०० देखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन आवागमन रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका १८ः०० बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ ।

मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति सबै प्रकारका सवारी साधनको चलाउन रोक लगाइएको छ । उक्त सडकखण्डमा बेलुका १७ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

इलाम नगरपालिका-९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा सडक पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका-२ कोदारीको इकु पहिरोले यहाँ पनि यातायात सेवा प्रभावित भएको छ । सोही गाउँपालिका-२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।

यसैगरी, आज बिहान ५ः०० बजे चौतारा साँगाचोकगढी नगरपालिका-९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्ड पनि पहिरोका कारण वरुद्ध भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गए राति पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले यात्रीलाई आग्रह गरेको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने भएकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : ५३ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरु

तुलसीपुर । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै