काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी प्रक्रिया, अनुसन्धान र राजनीतिक षड्यन्त्रबाट आफू विचलित नहुने बताएका छन्।
करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवा चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेपछि त्यहाँ भेला भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफूले लामो राजनीतिक जीवनमा कुनै भ्रष्टाचार नगरेको दाबी गरेका हुन्।
देउवाले आफूविरुद्ध विभिन्न निकायमा उजुरी तथा छानबिन भइरहेको भए पनि त्यसबाट नडराउने बताए। अदालतले बोलाए आफू पटक–पटक उपस्थित हुन तयार रहेको उल्लेख गर्दै उनले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा एक रुपैयाँ पनि अनियमितता गरेको प्रमाण नरहेको दाबी गरे।
पछिल्लो समय आफू र परिवारमाथि भएका अनुसन्धान तथा कानुनी प्रक्रियातर्फ संकेत गर्दै देउवाले नेपालमै मात्र नभई अन्तर्राष्ट्रिय तहमा समेत आफूहरूविरुद्ध मुद्दा चलाउने प्रयास भएको दाबी गरे। सर्वोच्च अदालतले आफू र पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न आदेश दिएको भए पनि आफूहरूमाथि ‘बदला’ लिने किसिमका गतिविधि भएको उनको आरोप थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफूहरूमाथि पटक–पटक अनुसन्धान गरेको उल्लेख गर्दै देउवाले ती अनुसन्धानमा केही नदेखिएको दाबी गरे। यद्यपि आफूले त्यसलाई लिएर बदलाको भावना नराख्ने उनले बताए। ‘तर मलाई बदलाको भावना लिनु छैन,’ देउवाले भने।
सम्बोधनका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाल्दै लोकतन्त्र र गणतन्त्र कसैले उल्ट्याउन नसक्ने दाबी गरे। नेपालमा गणतन्त्र आफ्नो व्यक्तिगत चाहनाबाट नभई संविधानसभाको निर्णयबाट स्थापित भएको उल्लेख गर्दै उनले यसको भविष्य जनताको हातमा रहेको बताए। ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ ?’ भन्दै उनले प्रश्न गरे।
गणतन्त्र आफूले चाहेर आएको वा आफूले चाहेर जाने व्यवस्था नभएको उल्लेख गर्दै देउवाले नेपाली जनता नै देशका मालिक भएको बताए। संविधानसभाको पहिलो बैठकले गणतन्त्र स्थापना गरेको र यसको रक्षा गर्ने जिम्मेवारी पनि जनताकै भएको उनको भनाइ थियो।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाका लागि नेपाली कांग्रेसका सभापतिको रूपमा छुट्टै कोठासमेत उपलब्ध गराइएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन।


















प्रतिक्रिया