दशकको भाषिक विमर्श

प्रा.डा. दुबि नन्द ढकाल
२६ आश्विन २०७७, सोमबार

यस आलेखमा गत दशकमा सञ्चार माध्यममा भाषासम्बन्धी के कस्ता अनुसन्धानमूलक विचार आए, के कस्ता रिपोर्टिङ भए र आमसञ्चारमा के कस्ता विषयवस्तुले प्राथमिकता पाए भन्ने विषयको सर्वेक्षण गरिएको छ। यस लेखमा बिबिसी, द कन्भर्सेसन, गार्डियन र टाइम्स अफ इन्डिया जस्ता डिजिटल पत्रिकामा यस दशकमा भाषाका बारेमा प्राथमिकताका साथ प्रकाशित विचार तथा खबरका सामग्रीको सारसङ्क्षेपमा प्रस्तुत गरिएको छ। संसारभरिका मानिसले आफ्ना अनुभव व्यक्त गर्न भाषा प्रयोग गरिने कुरा र भाषा अनुभवको सञ्चार व्यक्‍त गर्न प्रयोग गरिने कुरा स्थापित विषय नै छ । भाषाका सबालमा एक दशकका खबरहरू एउटा आलेखमा समेट्ने कुरा असम्भव भए पनि ती विषयहरूको सारसङ्क्षेपलाई यस लेखमा प्रस्तुत गर्ने कोसिस गरिएको छ । यस लेखमा प्रतिनिधि विषयहरू मात्र समेटिएका छन् ।

 

आदिबासी मातृभाषा वर्ष

संयुक्त राष्ट्र संघले सन् २०१९लाई आदिवासी मातृभाषा वर्षको रूपमा मनाउने घोषणा गरेको विषय कन्भर्सेसनमा एउटा लेख र अन्य केही खबरमा प्रकाशित भए। आदिवासी मातृभाषा वर्षको मूल मर्म चाहिँ “भाषाले मानिसको दैनिक जीवनमा अहम् भूमिका खेलेको हुन्छ” भन्ने रहेको थियो। प्राध्यापक एच् एक्केरहार्डको लेखमा अफ्रिकी सन्दर्भबाट विश्वका आदिवासी भाषाको सन्दर्भका बारेमा केही विचार प्रस्तुत गरिएको छ ।

भाषाका सम्बन्धमा उनले उल्लेख गरेका केही स्वर्णिम नियमहरू निम्नानुसार रहेका छन् – पहिलो, पश्चिमी ज्ञान र दृष्टिकोणले अफ्रिका, एसिया तथा अन्य देशहरू उनीहरूका आफ्ना देशहरू जस्तै एकभाषी हुन्छन् भन्ने धारणाबाट बाँकी विश्वको भाषिक स्थिति हेर्ने गरिएको दृष्टिकोण सत्य साबित हुन सक्दैन । यस्तो दृष्टिकोणले अफ्रिका तथा एसियामा भएको विविधता तथा बहुभाषिक स्थितिसँग तालमेल खाँदैन। दोस्रो, बालबालिकालाई उनीहरूले नबुझ्ने भाषामा शिक्षण गर्न नहुने र आवश्यकता अनुसार बहुभाषिक माध्यममा पठनपाठन गर्नु पर्ने हुन्छ । तेस्रो, भाषा नीति समावेशी हुनु पर्छ ।

नेपालमा पनि यस्ता विषयको चर्चा भइरहने गर्दछ । लामो कालखण्डमा एकभाषिक नीति अबलम्बन गरिएकामा हाल संविधानमा नै बहुभाषिक नीति अबलम्बन गरिएको छ । यहाँ बोलिने सबै भाषालाई राष्ट्रभाषा मानिएको छ । स्तरगत योजनाका दृष्टिकोणबाट समावेशी भाषा नीति अबलम्बन गरिनुले यहाँका सबै भाषाहरूलाई कानुनत: समान सम्मान र स्थान दिइएको छ ।

 

जनगणना र भाषा

विभिन्न खबरहरूमा जनगणनामा भाषाको सन्दर्भलाई मिडियामा प्रस्तुत गरेको पाइन्छ । सन् २०१३ मा बिबिसी अनलाइनमा प्रकाशित खबरमा सार्क मुलुकमा पर्ने अफनिस्तानमा २०१३ मा गरिएको जनगणनामा भाषासम्बन्धी प्रश्न समावेश नगरिएको कुरा उल्लेख गरिएको थियो।

विशिष्ट राजनीतिक प्रक्रियाबाट गुज्रिरहेको अफगानिस्तानमा आर्थिक, सुरक्षा, शिक्षा, राहत वितरण, अस्पतालहरूको वितरण र निर्माण तथा पूर्वाधारलाई प्राथमिकतामा राखिएकाले त्यस जनगणनामा भाषालाई प्राथमिकता नदिइएको प्रकाशित सामग्रीबाट थाहा पाइन्छ । यथार्थमा त्यहाँको भाषिक विविधताले जातीय तथा धार्मिक द्वेष फैलिन सक्‍ने कारणले पनि यस सम्बन्धी प्रश्न समावेश नगरिएको अनुमान गर्न सकिन्छ ।

लेखक

२०११ मा संयुक्तर अधिराज्यमा भएको जनगणनालाई विशेष महत्त्व दिएर खबरहरू प्रकाशित भए । यस जनगणनामा मूलत: वेल्स भाषाका वक्ताको सङ्ख्या ५९% बाट ४९%मा गिरावट भयो। यसलाई वि.सं. २०६८ मा भएको नेपालको जनगणनामा भएको नेपाली भाषाका वक्ताहरुको सङ्ख्यामा आएको गिरावटसँग समेत तुलना गर्न सकिन्छ । वि.सं. २०६८ को जनगणनामा अघिल्लो जनगणनाका तुलनामा नेपाली भाषाका वक्ताको सङ्ख्यामा ह्रास आए पनि यसको चर्चा र चिन्ता भएको देखिएन ।

वेल्स भाषाका वक्ता घटेकामा चाहिँ तत्कालीन समयमा अखबारहरुमा ठुलै बहश भएको थियो। यसले वेल्समा उच्चट राजनीतिक तहसम्म तरङ्गित गर्यो र यस भाषाको प्रयोगलाई बढावा दिनका लागि स्थानीय सरकारले ठुलो धनराशी खर्चिने निर्णय गरेको समेत पाइयो।

 

द्विभाषिकता र बहुभाषिकता

विभिन्न देशको बहुभाषिक स्थिति र खास गरी जनगणना पश्चात प्राप्त सूचनाका आधारमा समाजमा कायम बहुभाषिकता र वैयक्तिक बहुभाषिकतामा केही समाचारहरू प्रकाशित भए। संयुक्त राज्य अमेरिकामा भारतीय भाषाहरूमध्ये हिन्दी सबैभन्दा बढी प्रयोग हुने भाषा र त्यसपछि गुजराती र तेलगु भाषा प्रयोग हुने खबर प्रकाशित भयो । अमेरिकन कम्युनिटि सर्भेमा आधारित तथ्याङ्कले यो तथ्य देखाएको छ । सेन्टर फर इमिग्रेसन स्टडिजले (सिआइइस्, संयुक्त राज्य अमेरिकाको एउटा थिङ्क ट्याङ्) लिएको अर्को तथ्याङ्कमा घरमा अङ्ग्रेजीबाहेक अन्य भाषा बोल्नेको सङ्ख्या २०१८ सम्ममा १९८० भन्दा तीन गुणा बढी र १०९० भन्दा तीन गुणा बढी रहेको छ। अमेरिकी जनगणनामा सोधिने भाषासम्बन्धी दक्षता मापन गर्ने प्रश्ननको उत्तरमा चाहिँ करिव २६ मिलियन जनसङ्ख्याले अङ्ग्रेजी राम्रोसँग बोल्न नजान्ने कुरा बताएको उल्लेख छ ।

टाइम्स अफ इन्डियामा २०१८ मा प्रकाशित अर्को खबरमा १२% हिन्दी वक्ताहरू र बङ्गाली मातृभाषा बोल्ने १८% वक्ताहरू द्विभाषिक भएको अवस्था बिगतको भारतीय जनगणनाले देखाएको छ। यी वक्ताहरूले बढी प्रयोग गर्ने दोस्रो भाषा चाहिँ अङ्ग्रेजी रहेको छ। भारतका सन्दर्भमा नयाँ पुस्तामा बहुभाषिकता बढी देखिएको छ र यो स्वभाविक पनि छ । ३५ र ४९ वर्ष समूहका सहरमा बस्ने भारतीय युवायुवतीहरू पुरानो पुस्ताका तुलनामा बढी बहुभाषिक छन् र यस समूहका करिव १६% वक्ता त्रैभाषिक छन्। ग्रामीण क्षेत्रमा बसोबास गर्ने युवायुवतीमा भने द्विभाषिकता तथा बहुभाषिकताको स्तर सहरमा बसोबास गर्नेका तुलनामा कमी रहेको छ। भारतको जनसङ्ख्याको एक चौथाइ जनसङ्ख्या बहुभाषिक रहेको छ भने ७% जनसङ्ख्या त्रैभाषिक रहेको छ। १४ वर्षसम्ममा वक्ताहरूमा बहुभाषिकताको स्थिति समान रहे पनि यस उमेर समूहभन्दा माथिका वक्ताहरूमा असमानता क्रमशः वृद्धि हुँदै गएको पाइन्छ । नेपालका सन्दर्भमा पनि आगामी जनगणनाबाट प्राप्त हुने तथ्याङ्कलाई समेत विभिन्नथ विषयहरूसँग अन्तर्सम्बन्धित गराएर विवेचना गर्नु पर्ने आवश्यकता छ ।

वैयक्तिक तहमा बहुभाषिकताका केही फाइदाहरू चर्चा गरिएका छन्। प्रथमतः बहुभाषिक व्यक्तिले एकै पटक धेरै समुदाय वा संस्कृतिसँग अन्तर्क्रिया गर्न सक्षम हुन्छ । एलेन बिआलिस्टोकले गरेको अध्ययनमा सानै उमेरदेखि एकभन्दा बढी भाषा नियमित रूपमा बोल्दा यसले मानव मस्तिष्कमा सकारात्मक असर पार्ने गर्दछ । यसले संज्ञानात्मक सक्षमता बढाउने मात्र नभई यसले अल्जाइमर्स जस्ता रोगसँग मुकाविला गर्न समेत मद्दत पुर्याउँछ । टोरोन्टोको योर्क विश्वविद्यालयमा प्राध्यापन गर्ने मनोविज्ञानकी प्राध्यापक बिआलिस्टोकले यसै अनुसन्धानका लागि पुरस्कार समेत हात पारेकी थिइन् । उनले बहुभाषिक व्यक्तिहरू दुईभन्दा बढी भाषाको प्रयोग एकैपटक समेत गर्न सक्ने हुनाले उनीहरू फरक दृष्टिकोणबाट विषयवस्तुको विश्लेषण गर्न सक्षम हुन्छन् । यो भाषा सिकाइमा मात्र सीमित नभई अन्य क्षेत्रमा समेत उपयोगी हुने गर्दछ । व्यक्तिगत तहमा बहुभाषिकताले डिमेन्सिया जस्ता रोगलाई कम गर्ने कुरा पनि अर्को एक अनुसन्धानले देखाएको छ ।

 

भाषाको लोप तथा सबलीकरण

प्रत्येक दुई हप्तामा एउटा भाषाले मृत्युबरण गर्ने खबर समेतलाई अखबारहरूमा चर्चा गरिएको पाइन्छ । विभिन्न खबरहरूमा भाषाहरूको लोपोन्मुख स्थितिका खबरहरू प्रकाशित भएका छन् । भाषाका अन्तिम वक्ताहरु समेतको चर्चा पनि गरिएको छ । क्यानडाको ब्रिटिस कोलम्बियामा २० जना वक्ताहरूले मात्र बोल्ने भाषामा फिल्म निर्माण भएको समेत विषय चर्चामा ल्याइएको पाइन्छ। यी खबरहरूमा दक्षिण एसियाका भाषाहरूका धेरै चर्चा भएको देखिएन तर बङ्गलादेशमा बोलिने निउ भाषाको लेखनप्रणालीमा प्रयोग गरिने अक्षरहरूको लोप भएको एउटा समाचार बिबिसीमा प्रकाशित भएको थियो । अस्ट्रेलियामा लोपोन्मुख भाषाका सामग्रीहरूको सङ्कलनका लागि आर्काइभ निर्माण गरिएको प्रसङ्ग समेत अखबारमा समावेश गरियो ।

युनेस्कोले सन् २००९मा मृत घोषित गरेको आइरिस र स्कटिससँग निकटको साइनो राख्ने म्याङ्क्स भाषा सबलीकरण भएको खबर प्रकाशित भयो । १९औँ शताब्दीको सुरुवातमा यस भाषाका वक्ताहरु क्रमशः लोप हुन थाले र परिणाम स्वरुप सन् १९०१ मा ९.१ % जनसङ्ख्या रहेको यस भाषाका वक्ता अर्को दुई दशकमा १.१ %मा झरेको पाइन्छ । उन्नाइसौँ शताब्दीको बीचमा आइपुग्दा आर्थिक मन्दीका कारणले त्यस भाषाका वक्ताले आफ्नो भाषाप्रति नकारात्मक सोच सिर्जना गरे र केही वक्ताहरूले त यसलाई आफ्नो पछौटेपन र गरिबीको कारक भएको समेत भन्न भ्याए । तर, अहिले यस भाषाका करिव १८०० वक्ताहरूले यसै भाषामा सञ्चार गर्न तथा पढ्न सक्छन् र मृत भाषा प्रचलनबाट हराइ नसकेकाले सबल भएको स्थितिलाई समाचारको विषय बनाइएको पाइन्छ जुन अध्येताका लागि एउटा रोचक विषय बनेको छ । भाषा सबलीकरणका अन्य खबरहरूसमेत अखबारहरूमा आएका छन्।

 

भाषा र कानुन

भाषाहरू सरकारी कामकाजमा र मूलतः कानुन निर्माणका तहमा प्रयोग भएका केही खबरहरू प्रकाशित भए । क्यानडामा पहिलो पटक मोह्वाक भाषा त्यहाँको हाउस अफ कमन्समा प्रयोग गरेको विषयलाई रूचिपूर्ण किसिमले समाचारमा प्रकाशित गरियो । त्यसै गरी वेल्सका घर तथा टोलहरूमा तिनीहरूको स्थान नाम साथै ऐतिहासिक क्षेत्रको संरक्षण गरिनु पर्ने कानुनी व्यवस्था पारित गरियो। युक्रेनमा पनि युक्रेनी भाषालाई सरकारी कामकाजका बहुल क्षेत्रमा प्रयोग गरिने विधेयक पेस भएकामा रसियाली भाषा बोल्ने वक्ताहरूबाट त्यसको विरोध भयो ।

युक्रेनमा बसोबास गर्ने र रसियाली मातृभाषीहरूलाई यसले उनीहरूको भाषिक अधिकारबाट बन्चित गरेको छ भन्ने उनीहरूको तर्क रहेको थियो । यसमा क्रेमलिनको असन्तुष्टि रहेको विषय पनि उल्लेख भयो । भाषा ऐन जारी भएका बहुभाषिक मुलुकमा यसप्रकारका घटनाहरू प्रकाशनमा बाहिर आए ।

…………..

यो पनि : नेपालमा भाषा अभिलेखीकरण

…………..

क्यानडाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमले अङ्ग्रेजीलाई प्राथमिकता दिएको तर फ्रेन्च भाषाका सङ्केत तथा सूचना कानुनमा तोकिए अनुसार स्थान नदिइएकामा स्थानीय अदालतले उनीहरूलाई क्षमा माग्न लगाएको तथा दण्डको फैसला गरेको खबर प्रकाशित गर्यो । कानुनद्वारा स्थापित नियमको प्रदत्त भाषिक अधिकारको उल्लङ्घन गरेकाले उक्त वायुसेवा निगम दण्डित हुनु परेको विषय समेत फैसलामा उल्लेख गरिएको छ ।

त्यसै गरी अस्ट्रेलियामा “हाम्रो भूभाग, हाम्रा भाषा” शीर्षकमा त्यहाँको हाउस अफ कमन्सले गरेको अध्ययनपछि आदिबासी भाषाहरूलाई शिक्षामा प्रयोग गर्न सिफारिस गर्यो। यस अध्ययनले निश्चित भूभागका व्यक्तिको आर्थिक स्थितिमा सुधार ल्याउन, व्यावसायिक सीपमा बढावा दिन र शैक्षिक अवसरमा पहुँच पुर्यााउन आदिबासी भाषाहरूको शिक्षामा प्रयोग गर्न सिफारिस गरेको थियो ।

 

भाषा र प्रविधि

यस एक्का्इसौँ शताब्दीमा भूमण्डलीकरण र प्रविधिको विकासले हाम्रो कार्यशैली र जीवनशैली समेत प्रभावित भएको छ । आधुनिक प्रविधिको प्रयोगमा मूलतः ठुला भाषाहरू प्रयोग हुनाले भाषाहरू लोपोन्मुख हुने गरेको एउटा कारणको चर्चा हुने गर्दछ । हामीले थोरै वक्ताले बोल्ने भाषाहरूलाई समेत प्रविधिमा प्रयोग गरेर यसको प्रयोगमा विस्तार गर्न सक्छौँ। कम वक्ताले बोल्ने भाषाहरूलाई प्रविधिमैत्री बनाई प्रयोग गरेको खासै देखिँदैन ।

तीन जना वक्ताले मात्र सहजै बोल्न सक्ने अस्ट्रेलियाको मार्रा भाषालाई प्रविधिमा प्रयोग गरिएको खबर समेत समाचारमा प्रकाशित भयो । यसबाट के बुझ्नु जरुरी छ भने भाषाहरूलाई सवलीकरण गर्नका लागि तिनीहरूलाई आधुनिक प्रविधिमा प्रयोग गरिनु पर्दछ ।

थोरै वक्ताहरू भएका भाषालाई पनि प्रविधिमा प्रयोग गरिएका उदाहरणहरू संसारभरि पाइने गर्दछन् । अफ्रिकामा बोलिने योरुबा भाषामा यस प्रकारको प्रविधि प्रयोग गरिएको स्थितिलाई लिन सकिन्छ । त्यसै गरी ब्राजिलको अमेजनमा बोलिने टेम्पे भाषाको रेकर्डिङ र अनुवादको लागि कम्प्युटर सफ्टवेयरको निर्माण गरिएको प्रसङ्ग समेत यहाँनेर स्मरणीय रहेको छ । प्रविधिको प्रयोग सामाजिक सञ्जालहरूमा गर्न सकेमा छरिएर रहेका वक्ताहरूले एकैपटक आफ्नो भाषामा अन्तर्क्रिया गर्न सक्ने कुरालाई हामीले स्मरण गर्नुपर्ने हुन्छ ।

भाषा र प्रविधि शीर्षकको गार्डियनले २०१८ मा सम्पादकीय प्रकाशित गर्यो । त्यस सम्पादकीयको अन्त्यमा ूएउटा भाषाले राष्ट्रियतालाई एकीकृत गर्छ भन्नो कुरा सोँच्नुको सट्टामा आधुनिक राष्ट्रियताले बहुअर्थ बोक्ने बहुभाषिकतालाई प्रतिनिधित्व गर्दछ ।ु त्यस सम्पादकीयमा प्रविधिले संसारभरिको सञ्चारको बहुलतालाई प्रतिनिधित्व गर्नु पर्ने र प्रोत्साहित गर्नु पर्ने उल्लेख छ ।

 

विदेशी भाषा किन सिक्ने ?

संयुक्त अधिराज्यमा भाषा सिकाइ सम्बन्धी एउटा अध्ययनको प्रतिवेदनका बुँदाले आमसञ्चारको ध्यानाकर्षण गरेको पाइन्छ । लिभिङ् ल्याङ्वेजेज रिपोर्ट (२०१५) शीर्षक दिइएको उक्त प्रतिवेदनमा भाषा सिकाइका सम्बन्धमा दिइएका बुँदाहरूमध्ये केही बुँदाहरू यस प्रकार रहेका छन् : पहिलो, विदेशी भाषाको सीपको अभावमा संयुक्त अधिराज्यको अर्थतन्त्रमा प्रभाव पार्ने र व्यापारमा समेत असर गर्दछ भन्ने कुराको उल्लेख गरिएको छ । दोस्रो, नयाँ पुस्ताका युवा युवतीहरू विदेशी भाषा सिक्न अप्ठ्यारो र झन्झटिलो भएकाले भाषा सिकाइप्रति इच्छुक नभएका विभिन्न कारणहरूलाई सूचीकृत गरिएको छ । तेस्रो, अल्पसङ्ख्यक भाषाहरूको प्रयोगले समाजमा समाञ्जस्यता र सहिष्णुतालाई बढावा दिने विषयलाई प्रस्ट पारिएको छ । चौथो, नयाँ भाषा सिक्दा यसले संसारका अन्य भाषा तथा समुदायलाई हेर्ने दृष्टिकोणमा नयाँ आयाम थपिने कुरालाई समेत त्यस प्रतिवेदनमा उल्लेख गरिएको छ।

 

अन्त्यमा,

माथि उल्लिखित डिजिटल अखबारहरूमा विगत दशकमा प्रकाशित विषयवस्तुमा मूलतः भाषा तथा लिपिको लोपोन्मुख स्थिति, भाषाको अभिलेखीकरण तथा सवलीकरण, जनगणनामा भाषाको विषय, आदिवासी मातृभाषा वर्ष, भाषा, कानुन र प्रविधिका अनुसन्धानमूलक विषयहरू समेटिएका छन् । हाम्रा लागि पनि यी विषय सान्दर्भिक छन् ।

dndhakal@gmail.com 

– लेखक भाषा विज्ञान केन्द्रीय विभाग त्रि.वि.का प्राध्यापक हुन्  

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*