४ भदौ २०८३, बिहिबार | August 20, 2026

दश वर्षमा पनि बनेन मनाङमा पुल



मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।

मनाङ ङिस्याङ गाउँपालिका-३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । उक्त पुल मस्र्याङ्दी नदीमा निर्माण हुँदैछ ।

पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले ७० प्रतिशत रकम भुक्तानी लिइसकेको भए पनि काम निकै सुस्त छ । सो कार्यालय प्रमुख हरि थापाले निर्माण कम्पनीलाई आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षाअनुसार निर्माण हुन सकेको छैन ।

उनका अनुसार पटक-पटक म्याद थपिँदै आए पनि पुलको काम सम्पन्न हुन सकेको छैन । “भुक्तानी भइसकेको छ, तर पुलको बिम उठाउनेबाहेक अरू काम भएको देखिँदैन,” उनले भने ।

कार्यालयका अनुसार विसं २०७३ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित करिब रु चार करोडमा निर्माण सम्झौता भएको थियो । मनाङ ङिस्याङ गाउँपालिका-३ र ४ जोड्ने हुम्डेमा रहेको यो पुल मस्र्याङ्दी नदी पार गरी माथिल्लो मनाङ पुग्ने मुख्य सडकमा पर्छ ।

वडा नं ३ का वडाध्यक्ष कृष्णबहादुर लामाले ठेकेदारसँगै कार्यालयले पनि पुल निर्माणमा चासो नदिएको आरोप लगाए । स्थानीयवासीका अनुसार पुल नबन्दा गाउँपालिका कार्यालय पुग्न लामो समय लाग्ने गरेको छ ।

स्थानीय मुखिया लामाले भने, “पुल बनेपछि चार-पाँच मिनेटमै गाउँपालिका पुग्न सकिन्छ । अहिले पुल नहुँदा घरबाट गाउँपालिका पुग्न धेरै समय खर्चिनुपरेको छ ।”

काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर नयाँ कम्पनीमार्फत निर्माण अघि बढाउनुपर्ने स्थानीयवासीको माग छ । उनीहरूले पुल निर्माणमा ढिलाइ हुँदा अन्य विकासका कामसमेत प्रभावित भएको बताएका छन् ।

जिल्ला अनुगमनका क्रममा मनाङका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन । उनले पुल निर्माण सम्पन्न भएपछि मात्र मूल्याङ्कन गरी भुक्तानी दिन सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशनसमेत दिएका छन ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पटक-पटक सम्पर्क गरी काम पूरा गर्न आग्रह गरे पनि ठेकेदार कम्पनीले चासो नदिएको बताए । काम नगरेको कम्पनीलाई पटक-पटक म्याद थपेर काम गर्ने अवसर दिइएको उनको भनाइ छ ।

पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय क्षेत्र मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण नहुँदा स्थानीयवासीसँगै पर्यटकले समेत सास्ती भोग्नुपरेको बताए । उनले समयमै पुललगायत पूर्वाधार निर्माण भए स्थानीयवासी र पर्यटकलाई आवतजावतमा सहज हुने बताए ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ८ : १९ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक