२५ आश्विन २०८३, आइतबार | October 11, 2026

उत्तिसको गोलिया काठ बरामद



खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा र साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो ।

स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले अनधिकृत रुपमा बिक्रीका लागि लैजान लागेको अवस्थामा फेला परेको डिभिजन प्रमुख राजन राईले जानकारी दिए ।

“काठ व्यवसायीले बिना अनुमति रुख कटान गराएर निकासी गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि बरामद गरेका छौँ”, उनले भने, “घटनाको विषयमा छानबिन गर्न समिति पनि बनाइएको छ । समितिको प्रतिवेदन आएपछि कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।”

साप्सुखोलाको शिरतर्फका सार्वजनिक तथा सामुदायिक वनका रुख कटान गरेर ती काठ बगाउँदै ल्याइएको बताइन्छ । मध्यपहाडी लोकमार्गस्थित साप्सुखोलाको मोटरेबल पुलमा काठका मुडा जम्मा गरिएको पाइएको थियो ।

अवैध रुपमा गोलिया काठ निकासी भइरहेको घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालय खोटाङका कर्मचारी पुग्दा कतिपय मुडा खोलाबाट निकालेर हार लगाएर बगरमा राखिएको तथा कतिपय मुडा खोलामै छरपस्ट भेटिएका थिए । वन कार्यालयका कर्मचारीले सबै काठ वन कार्यालयमा ल्याएका छन् ।

बेवारिसे अवस्थामा भेटिएका गोलिया काठ केही निजी र केही सार्वजनिक जग्गाबाट अवैधानिक तरिकाले कटान गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए ।

‘वन ऐन २०७६’ अनुसार सार्वजनिक जग्गामा रहेको उत्तिसलगायत निकासीका लागि खुला गरेको विभिन्न २८ प्रजातिका रुख कटान गरेको प्रमाणित भएमा रु दश हजार जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था छ ।

निजी जग्गामा भएका रुख कटानका लागि आदेश लिन नपरे पनि व्यावसायिक रुपमा निकासी गर्न सम्बन्धित क्षेत्रमा रहेको वन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो केही वर्षदेखि व्यापक रुपमा उत्तिस, मलातो, पात्ले, चिलाउनोलगायत विभिन्न प्रजातिका रुख कटान गरेर गोलिया काठ निकासी गर्ने काम भइरहेको छ ।

सक्रिय काठ व्यवसायीले ग्रामीण भेगका जग्गाधनीबाट सस्तो मूल्यमा सिङ्गो रुख खरिद गरेर कटानगरी तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरेर राम्रो कमाई गरिरहेका छन् ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ८ : २३ बजे

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत

बूढीगण्डकी बाढीप्रभावित नागरिकको उद्धार र राहतमा जुट्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

घरघरमा जमरा राखियो

काठमाडौं । आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना

सीएनआईवाईईएफ लुम्बिनीको ‘दसैँ कनेक्ट’ कार्यक्रम सम्पन्न

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम