बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ ।
भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताए ।
“बाँकेको नेपालगञ्ज,कोहलपुर, दाङको तुलसीपुर, घोराही, लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली-गल्लीका ठेलासम्म अहिले राताम्मे कर्णालीकै स्याउ देख्न सकिन्छ”, उनले भने, “सस्तो मूल्य र उत्कृष्ट स्वादका कारण उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ पर्न थालेको छ ।”
उनका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्याउ निकै सस्तो र गुणस्तरीय भएकाले यसको माग उच्च छ । भारतीय स्याउ प्रतिकिलो रु २५० मा बिक्री भइरहेका बेला कर्णालीको ताजा र अग्र्यानिक स्याउ किलोको रु १५० मा पाइन्छ । हिमाली हावापानीमा फलेको कर्णालीको स्याउ बढी स्वादिलो हुने भएकाले सर्वसाधारण यसतर्फ आकर्षित भएका हुन् ।
कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पु¥याउनु ठूलो चुनौती थियो । अहिले किसान र व्यापारीले सहज रुपमा स्याउ तराईका जिल्लामा पु¥याएर बिक्री वितरण गरेको उनले जानकारी दिए ।
प्रेमलालसँग वर्षौंअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री वितरण गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उनले भने, “कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधै तराईका बजारमा आइपुग्छ ।”
कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगञ्जको धम्बोझी, कारकाँदो र पुष्पलालचोक क्षेत्रमा कर्णालीका महिलाले फुटकर रुपमा स्याउ बिक्री वितरण गरिरहेका छन् ।
जुम्ला गुठीचौर गाउँपालिका-४ निवासी स्याउ व्यापारी रामप्रसाद न्यौपानेले यो वर्ष कर्णालीको स्याउलाई रुखमै पाक्न दिएर टिपिएकाले थप स्वादिलो रहेको बताए । उनले चन्दननाथ नगरपालिका-१० गैरागाउँबाट खरिद गरेको ४४३ कार्टुन स्याउ नेपालगञ्जको फलफूल बजारमा बिक्री गरेका छन ।
कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिन सके कर्णालीको स्याउ नेपालभर बिक्री वितरण गर्न सकिने व्यवसायी न्यौपानेको भनाइ छ ।

















प्रतिक्रिया