काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको बाढीको प्रारम्भिक कारणबारे चीनले नेपालको भन्दा भिन्न दाबी गरिरहेको छ । चीनले भोटेकोशी बाढीले विपत्ती ल्याएपछि जारी गरेको पहिलो विज्ञप्तिमा नेपाली भूभागमा भूकम्प र हिमपहिरो गएको दाबी गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सो दाबीलाई पुनः पुष्टि गर्दै नेपाली भूभागमै भूकम्पपछि हिमपहिरो र त्यसपछि पहिरो जाँदा बाढी आएको बताएका छन् ।
नेपाल टेलिभिजनको एनटीभी वर्ल्डसँगको कुराकानीमा राजदूत झाङले उपलब्ध प्रारम्भिक सूचनाअनुसार बुधबार बिहान नेपाली भूभागमा भूकम्प गएको र त्यसले हिमपहिरो निम्त्याएको बताएका हुन् । हिमपहिरोपछि आएको पहिरोका कारण नेपाल–चीन सीमा क्षेत्रको केरुङ–रसुवागढी आसपास दुवैतर्फ ठूलो मानवीय क्षति भएको उनको भनाइ छ ।
नेपालले भने चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोका कारण भोटेकोशी नदीमा बाढी आएको दाबी गर्दै आएको छ ।
राजदूत झाङले विपद्का कारण भएको क्षतिप्रति चीन गहिरो दुःखी रहेको भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गरेका छन् । कठिन परिस्थितिमा चीन नेपालसँगै रहेको र सम्भव भएसम्म सहयोग तथा सहायता उपलब्ध गराउने उनले बताएका छन् ।
उनका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले विपद्को अवस्थालाई उच्च प्राथमिकता दिँदै हराइरहेका व्यक्तिको खोज तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, घाइतेको तत्काल उपचार र मानवीय क्षति न्यून गर्न अधिकतम प्रयास गर्न निर्देशन दिएका छन् । उनले नेपाललाई बेलैमा सूचना नदिएको भन्ने आरोप अस्वीकार गरेका छन् । विपद्को निरन्तर निगरानी तथा पूर्वसूचना प्रणाली सुदृढ गर्न र उद्धारका क्रममा थप विपद् निम्तिन नदिन वैज्ञानिक उपाय अपनाउन पनि उनले जोड दिएका छन् ।
विपद् लगत्तै नेपालस्थित चिनियाँ दूतावासले आपत्कालीन संयन्त्र सक्रिय पारेको राजदूत झाङले बताएका छन् । प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा चिनियाँ कम्पनीको अवस्थाबारे जानकारी संकलन गर्दै नेपाली सरकार तथा सम्बन्धित निकायलाई उद्धारमा अधिकतम प्रयास गर्न आग्रह गरिएको उनले बताए ।
दूतावासले उद्धार तथा समन्वयका लागि प्रभावित क्षेत्रमा कार्यदलसमेत पठाएको उनले जानकारी दिए । चिनियाँ भूभागमा समेत ठूलो क्षति भए पनि नेपाललाई आपत्कालीन सामग्री र नगद सहयोग उपलब्ध गराउने विषयमा चीनले तत्काल समन्वय सुरु गरेको उनको भनाइ छ ।
यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोका सदस्य तथा चीनको राज्य परिषद्का उपप्रधानमन्त्री झाङ गुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीसहित तिब्बत पुगेका छन् । उनले त्यहाँ उद्धार तथा विपद् व्यवस्थापनको कार्यलाई मार्गदर्शन गरिरहेका छन् ।
चिनियाँ विदेश मन्त्रालय, जलस्रोत मन्त्रालय, मौसम प्रशासन, आपत्कालीन व्यवस्थापन मन्त्रालय तथा तिब्बत स्वायत्त क्षेत्रका सम्बन्धित निकायले नेपाली समकक्षीसँग समन्वय संयन्त्र स्थापना गरी विपद्को क्षति मूल्याङ्कन, खोज तथा उद्धार र आगामी कार्ययोजनाबारे सहकार्य गरिरहेको राजदूत झाङले बताए ।
उनले विपद्प्रति नेपाल सरकार तथा सम्बन्धित निकायले देखाएको सक्रियता र नेपाली जनताको धैर्य तथा प्रयासको प्रशंसासमेत गरेका छन् ।
भविष्यमा यस्ता प्राकृतिक विपद्को प्रभाव कम गर्न नेपाल र चीनबीच विपद् पूर्वतयारी, न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापनमा थप सहकार्य आवश्यक रहेको चिनियाँ राजदूतले बताएका छन् ।
उनका अनुसार दुई देशले मौसम, जलविज्ञान तथा भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान, निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेछ । सीमापार विपद्का घटनामा सूचना आदानप्रदानको संयन्त्र विकास गरी जोखिमको प्रारम्भिक पहिचान, पूर्वसूचना र तत्काल प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, आकस्मिक विपद्का बेला समन्वयात्मक उद्धारका लागि दुई देशबीच सञ्चार, संस्थागत संयन्त्र र उद्धार सहकार्यलाई थप मजबुत बनाउनुपर्ने उनले बताए ।
स्थानीय तहसम्मै विपद् व्यवस्थापन क्षमता बढाउन जनशक्ति प्रशिक्षण, प्राविधिक आदानप्रदान तथा आपत्कालीन सामग्रीको व्यवस्थापनमा समेत सहकार्य आवश्यक रहेको राजदूत झाङले उल्लेख गरेका छन् ।
नेपाल र चीन पहाड र नदीले जोडिएका निकट छिमेकी भएको उल्लेख गर्दै उनले नेपाललाई आवश्यकताअनुसार चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, दुवै देशका नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न प्राकृतिक विपद्सँग जुध्ने क्षमता संयुक्त रूपमा अभिवृद्धि गर्न चीन तयार रहेको उनले बताएका छन् ।

















प्रतिक्रिया