नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले सोमबार उक्त घरबाट ६ वटा शव निकालेको छ भने बाँकी १६ शव मंगलबार निकालिने जनाइएको छ ।
गत बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारमा ठूलो क्षति पुर्याएको थियो । बाढी आएको छैटौँ दिनपछि सोमबार खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको घरभित्र एकै ठाउँमा २२ जनाको शव भेटिएको हो ।
बाढीका बेला ती मानिस उक्त घरमा भेला भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बेत्रावतीमा बाढीले पुरिएको घरभित्र ठूलो संख्यामा शव भेटिएको पुष्टि गरेका छन् । उनका अनुसार सोमबार केही शव निकालिएको र बाँकी शव निकाल्ने तथा संकलन गर्ने काम मंगलबार गरिनेछ ।
यसअघि बेत्रावतीका पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी गर्न माग गरेका थिए । उनले प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उद्धार तथा खोजीका लागि आग्रह गरे पनि समयमै सुनुवाइ नभएको बताएका छन् ।
















प्रतिक्रिया