सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा लुम्बिनी प्रदेश ०२–००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिम्खका २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।
अस्पताल पुर्याइएका घाइतेमध्ये दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन् ।
दुर्घटनामा घाइते भएका चार जनाको त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचार गरिएको थियो । थप उपचार आवश्यक देखिएपछि उनीहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















प्रतिक्रिया