काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेताहरुलाई सोध्दै नसोधी जिल्ला प्रतिनिधि बनाएको पाइएको छ ।
समानान्तर अधिवेशन गर्न भन्दै खटाइएका प्रतिनिधिहरुमध्ये धेरैले आफूहरुलाइ झुक्याएर नाम राखिएको भन्दै आफ्नो नाम फिर्ता लिएका छन् ।
आफूहरुलाई जानकारी नै नदिइ समानान्तर अधिवेशनका लागि खटाइएको उनीहरुको भनाइ छ । आफूहरु समानान्तर अधिवेशनको पक्षमा नरहेकाले देउवा पक्षले गर्न लागेको अधिवेशनमा सहभागी नहुने उनीहरुले स्पष्ट पारेका छन् ।
देउवा पक्षद्वारा तेह्रथुम खटाइएकी पूर्वमन्त्री तथा पूर्व केन्द्रीय सदस्य सीता गुरुङ, पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराई, पाल्पाका लागि केन्द्रीय प्रतिनिधि तोकिएका कृष्णप्रसाद बस्याललगायतले आफूहरु समानान्तर अधिवेशनमा नलाग्ने जनाएका हुन् ।
पूर्वमन्त्री गुरुङले आफू सधैं रुख र चारतारे झण्डा भएको कांग्रेसमा रहेकाले आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधि नगर्ने बताएकी छिन् । नेता भट्टराईले पनि आफ्नो सहमति र जानकारीबिनै इतर पक्षले केन्द्रीय प्रतिनिधिका रूपमा आफ्नो नाम सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका छन् ।
नेता बस्यालले पनि आफ्नो नाम इतर समूहको केन्द्रीय प्रतिनिधिको सूचीमा समावेश भएको विषयमा आफू स्वयं आश्चर्यमा परेको बताए । ‘इतर पक्षबाट अधिवेशनहरू सम्पन्न गर्न खटाइएका केन्द्रीय प्रतिनिधिको सूचीमा मेरो नाम राखिएको रहेछ । त्यसप्रति भ्रममा नपर्न पार्टीका साथीहरूलाई आग्रह गर्दछु,’ उनले भने ।
देउवा पक्षको सबैभन्दा ठुलो खम्वा मानिदै आएका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा अर्का प्रभावशाली नेता रामहरि खतिवडालगायत दर्जनौं नेताहरुले यसअघि नै सँस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुने निर्णय सार्वजनिक गरिसकेका छन् ।
इतर पक्षले समानान्तर अधिवेशन गर्न भन्दै केन्द्रीय प्रतिनिधि तोकेका देउवाका पक्षमा दाबी गरिएका अन्य नेताहरुले पनि देउवा पक्षको अधिवेशनमा सहभागी नभई संस्थापन पक्षले गर्न लागेको अधिवेशनमा सहभागी हुने घोषणा गरेका छन् । संस्थापन पक्षले आगामी असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरेर असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्न लागेको छ ।
















प्रतिक्रिया