२९ भदौ २०८३, सोमबार | September 14, 2026

हरितालिका तीज पर्व आज, महादेवको पूजा-आराधना गरी मनाइँदै



काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा-आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव-पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पति पाउने वरदान प्राप्त गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूलाई समस्या सुनाएकी थिइन् । पार्वतीको समस्या थाहा पाएपछि साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखेका थिए ।

साथीहरूले लुकाएको स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवलाई पतिका रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ । पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले सोही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको हो । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजकै दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई पति प्राप्त गरेकाले आज व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यद्यपि, सबै नारीले निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

धर्मशास्त्रअनुसार व्रतका तीन प्रकार छन् । निराहार, जलाहार र फलाहार । सक्नेले निराहार, नसक्नेले जलाहार तथा जलाहार पनि गर्न नसक्नेले फलाहार व्रत बस्नु उत्तम मानिन्छ ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गर्दै व्रत बस्ने भएकाले अस्वस्थ अवस्थामा वा रजस्वला भएका बेला पुरुषले समेत तीजको व्रत बस्ने गरेका छन् ।

समग्रमा मनोकामना पूरा गराउने तथा सम्पूर्ण परिवारको सुख, शान्ति र कल्याणका लागि तीज व्रतको महत्त्व रहेको धर्मशास्त्रविद्हरू बताउँछन् । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् ।

धर्मशास्त्रमा व्रतलाई सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच प्रकारमा विभाजन गरिएको छ । तीजको व्रत नित्य र काम्य दुवै प्रकारको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु महिलाका लागि मात्र नभई सम्पूर्ण मानव समुदायका लागि भएको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा पाइन्छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ७ : ३० बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७