२० आश्विन २०८३, मंगलबार | October 6, 2026

पहिरोले खोसेको जलेश्वरवासीको सपना



म्याग्दी । बेनी नगरपालिका-८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् ।

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार नजिकैको जलेश्वर डेढ वर्षअघि सडक विस्तारका क्रममा सिर्जित पहिरोबाट थप चपेटामा परेको थियो । बस्ती मुनी बेनी-जोमसोम-कोरला सडक निर्माण भएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको चार दिने झरिपछि बस्ती माथिको राहुवडाको पाखोबाट खस्न थालेको पहिरोका कारण घर छाडेर धर्मशालामा आश्रय लिनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

“हाम्रा पुर्खाले ३० रोपनी जमिनमा बसाएको बस्तीलाई विस २०५४ मा खुलेको बेनी-गलेश्वर सडक विस्तारका क्रममा सिर्जना भएको पहिरोले १५ रोपनीमा खुम्चाएको थियो”, इन्द्र बरुवालले भने, “राहुवडाको पहिरोले हाल छ घरपरिवारको बसोबाससमेत रहेको लेयर्स र ब्रोइलर कुखुरा, गाईभैँसी र बाख्रापालनको केन्द्र बन्न थालेको जलेश्वरको उठिबास लगाएको छ ।”

चक्र बरुवाल, भूमिराज बरुवाल र सूर्य नगरकोटीको घरभित्र हिलो पसेर बस्न नमिल्ने अवस्था छ । इन्द्र र चक्र बरुवालको तीन हजार २०० कुखुरा पाल्न सक्ने क्षमताको दुई वटा खोरभित्र पसेको पहिरोले एक हजार ५०० बिक्रीका लागि तयार भएका ब्रोइलर कुखुरा नष्ट भएको छ । भवन भत्किएर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

इन्द्र र मुक्ति बरुवालको घरमा आंशिक क्षति पुगे पनि बस्न मिल्ने अवस्था छैन् । घरभित्र पसेको हिलोले लत्ताकपडा, कागजात, भाँडाकुँडा, अन्नपातदेखि बालबालिकाको कापी किताब नष्ट गरिदिएको छ । घरभरी पहिरो थुप्रिएपछि केहीले बेनी बजारमा डेरा खोजेर बस्न थालेका छन् ।

“वर्षौंको मेहनत र सङ्घर्षपछि बनाएको घर छाडेर धर्मशालामा आश्रय लिएर रात कटाउनुपर्दा पीडा भएको छ”, चक्र बरुवालले भने, “पहिरोले हामीलाई घरबास मात्र नभई रोजगारी र आम्दानीको आधार बनेको पोल्ट्री फार्मका सबै संरचना भत्कायो । ती संरचना पुरेपछि जीवन जिउने आधार पनि खोसिदिएको छ ।”

सुन्तला र केराका बगैँचा पहिरोमा पुरिएको छ । साँझ गलेश्वर धर्मशालामा गएर सुत्ने जलेश्वरवासी पाखोमा चिराचिरा परेर धाजा फाटेको जमिनका कारण जुनसुकैबेला थप पहिरो खस्ने जोखिम देखिएपछि घर फर्कने सम्भावना देखेका छैनन् । दिउँसो आएर घरभित्र पुरिएका सामान खोज्ने र सफा गर्ने जलेश्वरवासीको दिनचर्या बनेको छ । पहिरो जानुअघि उनीहरु कुखुरा, गाईभँैसी र बाख्राको स्याहारसुसार, दानापानीमा व्यस्त हुन्थे ।

बेनी बजार नजिक भएकाले पछिल्लो समय जलेश्वरमा कुखुरापालन र दूध उत्पादन व्यवसाय फस्टाउँदै गएको थियो । फार्ममा क्षति पुगेकाले विस्थापित परिवारको आम्दानीको आधार गुमेको छ । व्यावसायिक भविष्य अन्योलमा पारेको छ ।

“हाम्रो घरमात्रै जोगाउने कुरा होइन”, मुक्ति बरुवालले भने, “पूरै बस्ती सुरक्षित हुनेगरी योजना बनाउनुपर्छ । यहाँ बस्नै नसकिने अवस्था आयो भने हामी कहाँ जाने ?” बस्तीको माथिल्लो भागबाट आउने पहिरो र तल्लो भागमा कालीगण्डकीको कटान नियन्त्रण गर्न तत्कालीन तथा दीर्घकालीन उपाय खोज्नुपर्ने बरुवालले बताए ।

उनीहरूलाई तत्काल सुरक्षित आश्रयसँगै दीर्घकालीन पुनःस्थापनाको चिन्ता छ । कालीगण्डकीको कटान, सडक निर्माणका क्रममा भएको भू–क्षय र माथिल्लो क्षेत्रबाट खस्ने पहिरोको जोखिमलाई एकीकृत रूपमा व्यवस्थापन नगरे जलेश्वरको समस्या तत्काल टर्ने अवस्था नदेखिएको भूगर्भविद् चम्पकबाबु सिल्वालले बताए ।

बेनी नगरपालिकाका प्रमुख शुरत केसीले पछिल्लो विपद्ले जिल्ला सदरमुकाम बेनी बजारको न्युरोडसहित पालिकाका धेरै बस्ती जोखिममा परेको तथा क्षति भएकाले भू-गर्भविद्को टोली बोलाएर अध्ययन गरिएको बताए । अध्ययन टोलीको सिफारिस र सुझावअनुसार बजेट जुटाएर बस्ती संरक्षण, पुनर्निर्माण र पुनःस्थापनाका योजना अघि बढाइने नगर प्रमुख केसीको भनाइ छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : २३ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको

कांग्रेस १५ औँ महाधिवेशन : आजदेखि उम्मेदवारी मनोनयन, असोज २२ मा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

बेनी-जोमसोम-कोरला सडक : मर्मत जारी

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको

लुम्बिनीसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभाग तथा

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको