काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ । पार्टीले छानबिन प्रक्रिया टुङ्गो नलागेसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिअनुसार पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको छ ।
सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको पार्टीले जनाएको छ ।
‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ।’
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ । महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
सुनारमाथि लागेका आरोपबारे सत्यतथ्य पत्ता लगाउन राज्यका सम्बन्धित निकायलाई समेत सहयोग गर्ने पार्टीले जनाएको छ ।
एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । उक्त सामग्री सार्वजनिक भएपछि रास्वपाले विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो ।


















प्रतिक्रिया