२ कार्तिक २०८३, सोमबार | October 19, 2026

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा



बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन । परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ ।

बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सिर्जना थारुलाई यस वर्षको दसैँले झन् पीडा थपेको छ । घरमा जमरा राखिए पनि श्रीमान् बेपत्ता भएको पीडाले उनलाई पर्व मनाउने जाँगर छैन । आँखाभरि आँसु पार्दै उनले भनिन्, “दसैँ आएको छ, तर परिवारमा कुनै खुसी छैन ।” परम्पराअनुसार कुलदेवताको पूजा गरे पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले दसैँ मनाउन नसकेको उनले बताइन् । विगतमा परिवारसँगै बसेर खुसी साटासाट गरेको दसैँ सम्झँदा अहिले मन झन् भारी हुने उनको भनाइ छ ।

सोही गाउँका सुरेश थारु पनि भोटेकोशी बाढीमा बेपत्ता भएका छन् । उनकी श्रीमती रमिता थारु श्रीमान् फर्किने आशामा दिनरात पर्खिरहेकी छन् । “रातदिन श्रीमान्कै प्रतीक्षामा छु । उहाँलाई सम्झेर दसैँ कसरी मनाउने ?” उनले भनिन् । घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि दुःखका कारण टीका नलगाई दसैँ बिताउने उनले बताइन् ।

सिर्जना र रमिताजस्तै तिनघरवाका पाँच परिवार अहिले शोक र प्रतीक्षामा छन् । एउटै टोलका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए । पाँच जना बेपत्ता भएपछि पीडा परिवारमा मात्र सीमित छैन, सिङ्गो गाउँ नै शोकमा डुबेको छ । बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पाँच परिवारमा परेको विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको बताए । आफन्त, गरगोतियार र छरछिमेकमा पनि यस वर्ष दसैँको रौनक नरहेको उनले बताए ।

राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन् । विगतमा रोजगारी, व्यवसाय र अध्ययनका लागि सहरबजार तथा जिल्लाबाहिर गएकाहरू दसैँ मनाउन गाउँ फर्किन्थे । गाउँमा चहलपहल हुन्थ्यो र सबैले मिलेर पर्व मनाउँथे । तर यस वर्ष बाढीको पीडाले गाउँको माहोल बदलिएको छ । गाउँका बरघर बरुण थारुले यस वर्ष गाउँमा दसैँको रौनक नरहेको बताए । “दसैँ आएको छ, तर गाउँमा मादल बज्दैन । कसैको मनमा पनि खुसी छैन,” उनले भने । बाढीको पीडाका कारण तिनघरवासीले यसअघि अटवारी र तीज पनि उल्लासपूर्वक मनाउन नसकेको स्थानीयले बताएका छन् ।

भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन् । आफन्तको काजकिरिया गर्न खर्च अभाव भएको उनीहरूको भनाइ छ । बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि आर्थिक समस्या भएको बताइन् । स्थानीय सरकारले किरियाखर्च उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म नपाएको उनको गुनासो छ ।

राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो । बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि रु ५० हजारसम्म सहयोग गर्न सक्ने उनले बताए ।

बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पनि सरकारले कुनै किसिमको राहत वा सहयोग उपलब्ध नगराएको गुनासो गरे । उनका अनुसार राजु काममा गएको ज्यालासमेत पाएका छैनन् । “यहाँबाट कामदार लगेको ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट भएको छैन,” उनले भने । बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सरकारले प्रभावकारी पहल नगरेको उनको गुनासो छ ।

भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन्। बर्दियाबाट ७६ जना बेपत्ता छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  २ : ३० बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३