काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ ।
दसैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सो कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको बताए ।
कार्यालयका प्रहरी प्रवक्ता नरेशराज सुवेदीले उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको जानकारी दिए ।
उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्षको दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए ।


















प्रतिक्रिया