काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र सुझाव सुन्ने तथा पार्टीलाई जनमुखी बनाउन भन्दै दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको सुरुवात गरेका हुन् ।
अभियानमा सहभागी हुन आम जनसमुदायलाई अपिल जारी गर्दै नेकपाले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका समस्या समाधान तथा पार्टीको रूपान्तरणलाई अभियानको मुख्य उद्देश्य बनाएको जनाएको छ ।
अभियान कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ ।
पार्टीले जारी गरेको अपिलमा दुई तिहाइको सरकारबाट जनताले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको उल्लेख गरिएको छ । महँगी, बेरोजगारी, युवा पलायन तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले भोगिरहेका समस्याले जनजीवन कठिन बन्दै गएको नेकपाको निष्कर्ष छ ।
त्यस्तै, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौतीप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीले लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रतामाथि हस्तक्षेप हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ । फरक मतप्रति असहिष्णु व्यवहार र नागरिक अधिकार सङ्कुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन तथा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाएको अपिलमा उल्लेख छ ।
नेकपाले विगतका उपलब्धिप्रति गर्व गर्दै आफ्ना कमजोरीको पनि इमानदारीपूर्वक समीक्षा गर्नुपर्ने आवश्यकता स्वीकार गरेको छ । पार्टी जनतामुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी हुँदै गएको यथार्थलाई आत्मसात् गर्दै किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध बलियो बनाउने लक्ष्य राखिएको छ ।
अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलस्तरसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा उद्यमी–व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाले जनाएको छ ।
पार्टीले जनताका समस्या र गुनासामात्रै सुन्ने नभई महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य तथा अनुभव सङ्कलन गर्ने जनाएको छ । प्राप्त गुनासालाई स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसम्म पुर्याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने पनि अपिलमा उल्लेख छ ।
जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे जानकारी दिने अभ्यास अघि बढाइने पार्टीको भनाइ छ । जनताका समस्या सुनेर फर्कनुमात्र नभई समाधानका सम्भावना पहिचान गरेर जिम्मेवारीपूर्वक पहल गर्नु अभियानको उद्देश्य रहेको नेकपाले स्पष्ट पारेको छ ।
यसैगरी, रसुवाको भोटेकोशीमा आएको बाढीलगायत विभिन्न क्षेत्रमा भएका प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेकपाले बेपत्ता नागरिकको खोज तथा उद्धारमा भएको ढिलासुस्तीप्रति आपत्ति जनाएको छ । विपद्का बेला नागरिकको जीवनरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै पार्टीले उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्न सरकारसँग माग गरेको छ ।
विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन, विस्थापित परिवारको सुरक्षित पुनःस्थापना सुनिश्चित गर्न तथा सडक, पुल, खानेपानी, सञ्चार र विद्युत्लगायत क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि नेकपाले सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टीले समाजवाद निर्माणलाई जनताका आधारभूत समस्या समाधान गर्ने दीर्घकालीन मार्गका रूपमा प्रस्तुत गरेको छ । आर्थिक असमानता र शोषण अन्त्य, श्रमको सम्मान, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा न्यायपूर्ण पहुँच र राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनमुखी तथा आत्मनिर्भर बनाउने लक्ष्य समाजवादसँग जोडिएको अपिलमा उल्लेख छ ।
यसका लागि कृषि तथा उद्योगको आधुनिकीकरण, उत्पादन वृद्धि, राष्ट्रिय पुँजीको विकास, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणमा जोड दिइएको छ । राष्ट्रिय स्वाधीनता र आर्थिक आत्मनिर्भरतालाई परस्पर सम्बन्धित विषयका रूपमा व्याख्या गर्दै सबै मित्रराष्ट्रसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध अघि बढाउनुपर्ने पार्टीको धारणा छ ।
राष्ट्रिय जागरण अभियानसँगै सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गर्ने नेकपाको योजना छ । पार्टी तथा जनसंगठनका बैठक, भेला र प्रशिक्षण सञ्चालन गर्दै संगठनलाई जनताको सेवामा प्रभावकारी रूपमा परिचालन गरिने अपिलमा उल्लेख छ ।
नेकपाले पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ विनम्रतापूर्वक जान, उनीहरूका कुरा सुन्न, आलोचना स्वीकार गर्न र कमजोरी सच्याउन आग्रह गरेको छ । जनताको विश्वास भाषणबाट नभई व्यवहार र कामबाट आर्जन गर्नुपर्नेमा जोड दिँदै पार्टीले राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद र सहकार्य गर्न पनि आह्वान गरेको छ ।
अपिलमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसान, मजदुर, युवा, विद्यार्थी, महिला, उत्पीडित समुदाय तथा देश–विदेशमा रहेका नेपालीलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् । संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, महँगी र भ्रष्टाचारविरुद्ध आवाज उठाउने तथा उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समाजवाद निर्माणको आधार तयार पार्ने अभियानका प्रमुख सन्देश रहेका छन् ।

















प्रतिक्रिया