काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने भएका छन् । यसअघि प्रधानमन्त्री शाहले नेपाली क्रिकेटलाई शुभकामना दिँदै ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने सन्देश दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज अपराह्न ५ बजे प्रतियोगिता सुरु हुनेछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्सी सर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक र निरोशन डिक्वेला लगायतका खेलाडी छन् ।
त्यस्तै, लुम्बिनीको टोलीमा दिनेश अधिकारी, अभिषेक गौतम, तिलकराज भण्डारी, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान र करण घर्ती मगर पनि समावेश छन् ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा इशान पाण्डे, अविनाश बोहरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी र हेमन्त धामी लगायतका खेलाडी छन् ।
यसैगरी, सुदूरपश्चिमको टोलीमा हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादुर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दीपक बोहरा र फेबियन एलेन पनि छन् ।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

















प्रतिक्रिया