काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण उद्घाटन गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको छ । यससँगै लुम्बिनीले जितका लागि ८८ रनको लक्ष्य पाएको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। २३ बल खेलेका उनले दुई चौका प्रहार गरे । अनिल खरेलले २७ बलमा १५ रन जोड्दा ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए । उनले दुई चौका प्रहार गरे । सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए । शेर मल्लले तीन विकेट लिए भने शाड्ली भान साल्कविक, कप्तान रोहित पौडेल र तिलक भण्डारीले एक-एक विकेट हात पारे ।
अघिल्लो फाइनलको स्कोरभन्दा दुई रन बढी
सुदूरपश्चिमले बनाएको ८७ रन अघिल्लो संस्करणको फाइनलमा बनाएको स्कोरभन्दा दुई रन बढी हो । अघिल्लो सिजनको फाइनलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको थियो । उक्त खेल लुम्बिनीले चार विकेटले जित्दै उपाधि हात पारेको थियो ।
दुवै टोलीको प्लेइङ-११
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीका रूपमा सैफ जैब, ब्रान्डन म्याकमुलेन, शेरफेन रदरफोर्ड र स्कट कुगेलेइनलाई समावेश गरेको छ । टोलीमा विकेटकिपर विनोद भण्डारीसहित आरिफ शेख, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहरा पनि छन् ।
यता रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले डार्सी सर्ट, विकेटकिपर निरोशन डिक्वेला, शमीम हुसेन र शाड्ली भान साल्कविकलाई विदेशी खेलाडीका रूपमा मैदान उतारेको छ । टोलीमा आसिफ शेख, सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, किशोर महतो र तिलक भण्डारी पनि छन् ।
हेड टु हेडमा सुदूरपश्चिमको अग्रता
एनपीएलका अघिल्ला संस्करणमा सुदूरपश्चिम र लुम्बिनीबीच भएका खेलमध्ये दुईमा सुदूरपश्चिम विजयी भएको थियो भने अघिल्लो सिजनको फाइनलमा लुम्बिनीले जित निकालेको थियो ।
अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले पराजित गरेको थियो । त्यसअघिको सिजनको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको जित निकालेको थियो ।
पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित
लुम्बिनी लायन्स पछिल्ला पाँच खेलमा अपराजित रहँदै उद्घाटन खेलमा उत्रिएको छ । अघिल्लो सिजन फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले र इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो ।
त्यस्तै, लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई चार विकेटले हराएको लुम्बिनीले त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
सुदूरपश्चिम पाँच खेलमध्ये तीनमा विजयी
सुदूरपश्चिम रोयल्सले पछिल्ला पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोरेको विवरण छ । अघिल्लो सिजनको फाइनलअघि पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको थियो ।
लिग चरणको अन्तिम खेलमा भने सुदूरपश्चिम विराटनगरसँग छ विकेटले पराजित भएको थियो । त्यसअघि चितवन राइनोजलाई ४९ रनले र जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको थियो ।
आठ टोली सहभागी प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

















प्रतिक्रिया