काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम पूर्वानुमानमा अन्योल बढेको छ । पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस) को पूर्वानुमानमा ठूलो परिवर्तन देखिएसँगै नेपालमा भारी वर्षा हुने वा कम मात्रामा वर्षा लामो समयसम्म जारी रहने भन्ने विषयमा अनिश्चितता बढेको हो ।
मौसमविद् विनोद पोखरेलका अनुसार जीएफएसको पछिल्लो पूर्वानुमानले अर्को चक्रवातसमेत विकास हुन सक्ने संकेत गरेको छ । यद्यपि, अन्य मौसम पूर्वानुमान मोडेलहरूले तत्काल अर्को चक्रवात बन्ने स्पष्ट संकेत देखाएका छैनन् । पछिल्लो परिवर्तनसँगै चक्रवात ‘अर्नब’बाट नेपालमा पर्न सक्ने जोखिम भने घटेको उनले बताएका छन् ।
पोखरेलका अनुसार अबको मौसमी अवस्थालाई मुख्यतः दुई सम्भावनाका आधारमा हेर्नुपर्ने देखिएको छ। अर्को चक्रवात विकास भएमा त्यसले ‘अर्नब’लाई कमजोर बनाउन सक्ने र नेपालमा भारी वर्षाको सम्भावना घट्न सक्ने उनको आकलन छ । यस्तो अवस्थामा सोमबारसम्म हल्का वर्षा हुन सक्ने उनले बताएका छन् ।
तर, अर्को चक्रवात विकास नभएमा वा ढिलो गरी विकास भएमा बिहीबारदेखि शनिबारसम्म नेपालमा भारी वर्षा हुने सम्भावना कायमै रहने पोखरेलको भनाइ छ । उनका अनुसार अहिले अधिकांश अन्य मौसम मोडेलले यही सम्भावनालाई संकेत गरिरहेका छन् ।
“त्यसैले यो मौसमी प्रणालीको विकास र प्रभावबारे पूर्वानुमान गर्न निकै चुनौतीपूर्ण देखिएको छ,” पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनका अनुसार चक्रवात ‘अर्नब’ आज अपराह्न वा साँझ भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान छ । यसको प्रभाव नेपालमा भोलिदेखि बादल लाग्न थालेसँगै देखिन सक्ने भए पनि वर्षा भने बिहीबारदेखि सुरु हुने सम्भावना छ ।
यस मौसमी प्रणालीको प्रभावले गण्डकी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान अझै कायम रहेको पोखरेलले बताएका छन् । एउटा मौसम मोडेलले अन्य मोडेलभन्दा फरक नतिजा देखाएकाले वर्षाको मात्रा र अवधि यकिन गर्न कठिन भएको उनको भनाइ छ ।
यद्यपि, सातवटा मौसम पूर्वानुमान मोडेलको समग्र विश्लेषण गर्दा नेपालमा भारी वर्षाको सम्भावना अझै देखिएको उनले उल्लेख गरेका छन् ।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन मौसमविद् पोखरेलले आग्रह गरेका छन् । त्यसैगरी, किसानहरूलाई काटिसकेको तथा काट्न तयार धानबाली सुरक्षित राख्न आवश्यक तयारी गर्न उनले सुझाव दिएका छन् ।

















प्रतिक्रिया