झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री फूलको आयात नियन्त्रण गरी स्वदेशी उत्पादनलाई स्थानीय बजारमा प्राथमिकता दिन प्रशासनसँग माग गरेका छन् ।
भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र बोटमै खेर जाने अवस्था सिर्जना भएको भन्दै किसानले स्वदेशी फूलको संरक्षणका लागि नीतिगत पहल गर्न आग्रह गरेका हुन् ।
केही वर्षयता झापामा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको छ । तर, भारतीय फूलको आयातका कारण स्थानीय उत्पादनले उचित बजार नपाउँदा आर्थिक क्षति व्यहोर्नुपरेको विर्तामोडकी कृषक शुष्मा पौडेलले बताइन् ।
पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ । मागपत्रमा स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने माग प्रमुख रूपमा उठाइएको छ ।
स्वदेशी उत्पादनले नै स्थानीय माग धान्न सक्ने अवस्था रहेको उल्लेख गर्दै किसानले भारतीय फूलको आयात रोक्न आवश्यक नीतिगत पहल गर्न आग्रह गरेका छन् । स्वदेशी उत्पादनको संरक्षण र आफूहरूले गरेको लगानीको सुरक्षाका लागि आयात नियन्त्रण आवश्यक रहेको कृषक पौडेलले बताइन् ।
किसानका अनुसार झापामा १५ देखि २० हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । विगतमा स्थानीय फूलले उचित बजार नपाउँदा आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूको गुनासो छ ।
विर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती हुने गरेको छ । लाखौँ रुपैयाँ लगानीसँगै श्रम र समय खर्चिएर गरिने फूलखेतीले रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गरे पनि बजार र लगानीको संरक्षणमा राज्यले पर्याप्त ध्यान नदिएको किसानहरूको भनाइ छ ।
किसानले भारतबाट हुने अनधिकृत फूल आयात नियन्त्रण गर्न सीमा र भन्सारमा प्रभावकारी अनुगमन गर्न, स्थानीय उत्पादनको न्यायोचित मूल्य सुनिश्चित गर्न तथा सहज बजारको व्यवस्था मिलाउन माग गरेका छन् ।
त्यसैगरी, सरकारी कार्यालय, विद्यालय, होटल र विभिन्न सङ्घसंस्थामा स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहन गर्न, फूलखेतीसम्बन्धी वास्तविक तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन योजना बनाउन र फूलखेतीको संरक्षण तथा बजार विस्तारका लागि सरकारी सहयोग उपलब्ध गराउन पनि उनीहरूले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
















प्रतिक्रिया