काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
जनकपुर दोस्रो जित निकाल्ने योजनामा हुँदा पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । हालसम्मको प्रदर्शन हेर्दा जनकपुरले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । पोखराले भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो ।
जनकपुरले प्रतियोगिताको सुरुआत कर्णाली याक्ससँगको हारबाट गरेको थियो । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ११३ रनमै समेटिएको थियो । ब्याटिङमा साझेदारी बनाउन नसक्नु र नियमित अन्तरालमा विकेट गुमाउनु टोलीको मुख्य कमजोरी बनेको थियो ।
तर, दोस्रो खेलमा जनकपुरले उत्कृष्ट पुनरागमन गर्यो । काठमाडौं गोर्खाजलाई ११५ रनमा सीमित गरेको जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । टोलीको जितमा बलर राहुल यादवले महत्त्वपूर्ण भूमिका खेले । उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए ।
ब्याटिङमा मोइन अली र सैफ हसनले जिम्मेवारी सम्हाले । मोइनले अविजित ५८ तथा सैफले अविजित ४० रन बनाए । दुवैबीचको अविजित साझेदारीले जनकपुरलाई आठ विकेटको सहज जित दिलाएको थियो । पहिलो खेलमा देखिएको ब्याटिङ कमजोरी सुधार्नु जनकपुरका लागि सकारात्मक पक्ष बनेको छ ।
उता, पोखराले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध १४५ रन बनाएको थियो । पोखराका अर्जुन घर्तीले २५ बलमा ४० र महेदी हसनले २१ बलमा ३२ रन बनाएका थिए । उनीहरूको आक्रामक ब्याटिङ सकारात्मक रहे पनि टोलीले त्यसलाई ठूलो स्कोरमा बदल्न सकेन ।
बलिङमा अनिल खरेलले तीन विकेट लिए पनि पोखराले सुदूरपश्चिमलाई रोक्न सकेन । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले ५१ र इशान पाण्डेले ३७ रन बनाएपछि पोखरा ६ विकेटले पराजित भएको थियो । विपक्षी ब्याटरलाई लामो साझेदारी गर्न दिनु पोखराको मुख्य कमजोरी देखिएको थियो ।
जनकपुर र पोखराबीचको पछिल्लो आमनेसामनेको इतिहास भने बराबरी छ । अघिल्ला दुई संस्करणमा भएका खेलमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । सन् २०२५ नोभेम्बर २७ मा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ डिसेम्बर ५ मा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो ।
आजको खेलमा जनकपुरका लागि राहुल यादवको बलिङ तथा मोइन अली र सैफ हसनको ब्याटिङ महत्त्वपूर्ण हुनेछ । पोखराले भने अर्जुन घर्ती र महेदी हसनबाट पुनः राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ । साथै, अनिल खरेलको बलिङले पनि खेलको नतिजामा प्रभाव पार्न सक्छ ।
जनकपुरका लागि पहिलो खेलमा देखिएको ब्याटिङ कमजोरी दोहोरिन नदिनु चुनौती हुनेछ भने पोखराले ब्याटिङमा बनाएको आधारलाई ठूलो स्कोरमा बदल्नुपर्नेछ । जनकपुर जितको लय कायम राख्न चाहन्छ भने पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा फर्कने प्रयासमा हुनेछ ।
















प्रतिक्रिया