१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नारायणगढ-बुटवल सडक विस्तार सुस्त



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक विस्तारले गति लिन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते शिलान्यास गरेपछि शुरू भएको विस्तारको काम साढे १ वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन ।

नारायणगढ-बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको छ ।

दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । नारायणगढ–बुटवल सडक आयोजना अन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले असोज मसान्तसम्म नवलपुर खण्डमा १ दशमलव ४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिए ।

यो खण्डमा रूख कटानमा स्वीकृति नपाउँदा सडक विस्तारमा ढिलाइ भएको अधिकारीको भनाइ छ । सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या भएको उनले बताए ।

‘हामीले सडकको उत्तरतर्फको रूख कटानको अनुमति पाएपछि धेरै रूख काटिसकेका छौं,’ सूचना अधिकारी आचार्यले भने, ‘बाटोदेखि दक्षिणतर्फको रूखहरू मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले काट्न पाएका थिएनौं । केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट रूख काट्न स्वीकृति दिने निर्णय भएर आएको छ ।’

मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूखसमेत काट्न शुरू गरिएको उनले बताए । सो सडकमा सानाठूला गरी ३३ हजार ८९२ रूख काट्न स्वीकृत पाएको भन्दै उनले ६ हजार ४७८ ओटा रूख काट्ने काम सकिएको बताए ।

गैंडाकोटदेखि कावासोतीको जंगलसम्म धेरै रूख काटेर सकिएको उनले बताए । ‘अब हामीले डण्डाबाट पश्चिमतर्फ रूख काट्न शुरू गरेका छौं, रूख काटेर सक्नेबित्तिकै बाटो फराकिलो बनाउने काम शुरू हुन्छ ।’ सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ ।

यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : २३ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना