नयाँ दिल्ली। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने घोषणा गरेकी छन्। सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि उनी भारतमा बस्दै आएकी छन्।
डिसेम्बर १६ बंगलादेशमा विजय दिवसका रूपमा मनाइन्छ। सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार मंगलबार आफ्नो स्वदेश फिर्तीको मिति घोषणा गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानसँग राष्ट्रिय वायुसेवामार्फत आफ्नो फिर्ती यात्राको व्यवस्था गरिदिन आग्रह गरेकी छन्।
हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीले जारी गरेको वक्तव्यमा भनिएको छ, “५ अगस्ट २०२४ मा शेख हसिनालाई बंगलादेशको विमानबाट भारत ल्याइएको थियो। अब उनी दिल्लीबाट ढाकासम्मको हवाई यात्राको व्यवस्था गर्न सरकारसँग आग्रह गर्छिन्।”
हसिनाका सहयोगी अबु ओबैदा अरिनले एपीसँग भने, “बंगलादेश फर्किनका लागि उनले डिसेम्बर १६ अर्थात् विजय दिवसको दिन छनोट गर्नु निकै अर्थपूर्ण छ।”
अरिनले हसिनाको नेतृत्वमा बंगलादेश पुनः शान्ति, स्थिरता र विकासको बाटोमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन्।
हसिना सन् २०२४ अगस्ट ५ मा भारत आएकी थिइन्। त्यसबेला विद्यार्थी आन्दोलनका कारण उनले १५ वर्षदेखि निरन्तर चलिरहेको आफ्नो शासन त्याग्नुपरेको थियो। उक्त आन्दोलनमा सयौँ प्रदर्शनकारी मारिएका थिए।
हसिनालाई उनको अनुपस्थितिमै मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनले उक्त फैसला अस्वीकार गरेकी छन्। बंगलादेश फर्किएपछि यस मुद्दामा आफ्नो पक्ष प्रस्तुत गर्ने उनको भनाइ छ।
तर, बंगलादेश सरकारको दृष्टिकोण भने बिल्कुलै फरक छ।
बंगलादेशका विदेश मामिला राज्यमन्त्री हुमायुँ कबिरले हसिना स्वदेश फर्किन चाहेमा उनलाई हथकडी लगाएर कडा निगरानीमा ल्याइने बताएका छन्। उनका अनुसार हसिना कुनै सामान्य यात्रु होइनन्।
यस्तो अवस्थामा प्रश्न उठ्छ – बंगलादेश पुग्नेबित्तिकै आफू पक्राउ पर्न सक्ने र मृत्युदण्डको फैसला भइसकेको थाहा हुँदाहुँदै पनि हसिना किन स्वदेश फर्किन चाहन्छिन् ?
के उनी वास्तवमै आफ्ना मुद्दाहरूको सामना गर्न चाहन्छिन् ? अथवा स्वदेश फर्किने घोषणा गरेर आफ्नो पार्टी अवामी लिगलाई पुनः राजनीतिक रूपमा सक्रिय बनाउन खोजिरहेकी छन् ?
र, उनको स्वदेश फिर्तीका विषयमा भारत र बंगलादेशबीच कुनै कूटनीतिक समाधान निस्कन सक्छ ?
शेख हसिनासँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरूको जवाफ यहाँ प्रस्तुत गरिएको छ।
१. स्वदेश फर्किने घोषणापछाडि हसिनाको राजनीतिक रणनीति के छ ?
हसिनाको स्वदेश फर्किने घोषणालाई उनको व्यक्तिगत इच्छाका रूपमा मात्रै हेर्नु उचित हुँदैन। यसपछाडि अवामी लिगको राजनीतिक भविष्य र पार्टीभित्र आफ्नो पकड कायम राख्ने प्रयास पनि हुन सक्छ।
ढाकास्थित सेन्टर फर गभर्नेन्स स्टडिजका अध्यक्ष जिल्लुर रहमानले अलजजिरासँग कुरा गर्दै हसिनालाई बंगलादेश फर्किएपछि के हुन सक्छ भन्ने राम्रोसँग थाहा रहेको बताएका छन्।
तर, राहदानी प्राप्त गर्ने र स्वदेश फर्किने विषय उठाउनुको उद्देश्य अवामी लिगका नेता तथा कार्यकर्तालाई राजनीतिक रूपमा सक्रिय राख्नु रहेको उनको विश्लेषण छ।
रहमानका अनुसार हसिना कुनै पनि परिस्थितिमा पार्टीको नेतृत्व अरू कसैलाई सुम्पिन चाहँदैनन्। यही कुरा हसिना र अवामी लिग दुवैका लागि समस्या बन्न सक्छ। पार्टीले आफ्नो अस्तित्व जोगाउन नयाँ नेतृत्वको खोजी गर्नुपर्ने अवस्था आउन सक्छ।
बंगलादेश इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान निर्देशक फैज सोभानले पनि अलजजिरासँग कुरा गर्दै स्वदेश फर्किने घोषणाले हसिनालाई राजनीतिक रूपमा सान्दर्भिक बनाइराख्ने र देशभित्र आफ्ना समर्थकहरूको मनोभाव बुझ्ने अवसर दिने बताएका छन्।
सोभानका अनुसार हसिनाको वास्तविक स्वदेश फिर्ती कठिन देखिन्छ। किनकि यसको अर्थ मृत्युदण्डको सामना गर्नु वा जीवनको बाँकी समय जेलमा बिताउनु हुन सक्छ।
अलजजिरासँगको कुराकानीमा अमेरिकाका पूर्वकूटनीतिज्ञ जोन ड्यानिलोभिचले पनि हसिनाको स्वदेश फिर्ती घोषणालाई आफ्ना समर्थकहरूलाई एकजुट गर्ने प्रयासका रूपमा व्याख्या गरेका थिए।
उनको विश्लेषणमा डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्नुको उद्देश्य बंगलादेशमा घट्दै गएको आफ्नो राजनीतिक सान्दर्भिकतालाई पुनः चर्चामा ल्याउनु हो।
हसिनाले स्वदेश फर्किने मिति छनोट गर्नु पनि राजनीतिक रूपमा महत्वपूर्ण छ। सन् १९७१ डिसेम्बर १६ मा बंगलादेशको मुक्ति युद्ध समाप्त भएको थियो।
यो दिन बंगलादेशको इतिहासमा विशेष महत्व राख्छ। हसिनाका पिता शेख मुजिबुर रहमान बंगलादेशको स्वतन्त्रता आन्दोलनका प्रमुख नेतामध्ये एक थिए।
त्यसैले विजय दिवसमा स्वदेश फर्किने घोषणा गरेर हसिनाले आफ्नो राजनीतिक विरासत र बंगलादेशको स्वतन्त्रता आन्दोलनसँग जोडिएको पारिवारिक इतिहासलाई पनि अगाडि ल्याउन खोजेको देखिन्छ।
२. अवामी लिगका गतिविधि र हिंसा किन बढिरहेका छन् ?
हसिनाको स्वदेश फिर्ती घोषणा यस्तो समयमा आएको छ, जतिबेला बंगलादेशमा अवामी लिगका नेता तथा कार्यकर्ताहरूको गतिविधिलाई लिएर तनाव बढिरहेको छ।
बीबीसी बंगला सेवाको रिपोर्टअनुसार पछिल्ला केही सातादेखि अवामी लिगका नेता तथा कार्यकर्ताहरूले स्थानीय तहमा आफ्नो उपस्थिति देखाउने प्रयास गरिरहेका छन्।
विशेषगरी गोपालगन्जलगायत विभिन्न जिल्लामा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन्। त्यसको जवाफमा सरकारले पनि हिंसा रोक्न विभिन्न कदम चालेको छ।
यहाँ ध्यान दिनुपर्ने विषय के छ भने अवामी लिगको राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ। यस्तो अवस्थामा पार्टीका नेता तथा कार्यकर्ताले सार्वजनिक प्रदर्शन गर्नु वर्तमान सरकारका लागि कानुन–व्यवस्था कायम राख्ने चुनौती बनेको छ।
हसिनाले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रको माग गरेपछि बंगलादेशमा हिंसा बढेको छ। गोपालगन्जमा हसिनाका समर्थकहरूले गरेका प्रदर्शन हिंसात्मक बनेका छन्। ती घटनामा मानिसहरूको मृत्यु पनि भएको छ।
यस घटनाक्रमलाई हेर्दा सरकारको चिन्ता हसिनाको स्वदेश फिर्तीमा मात्रै सीमित छैन। उनको स्वदेश फिर्ती घोषणाले अवामी लिगका कार्यकर्ता र समर्थकहरू पुनः संगठित हुन सक्ने आशंका सरकारलाई छ।
यही कारण सरकारले डिसेम्बर आसपास सीमाक्षेत्रमा पनि निगरानी बढाउने बताएको छ।
बीबीसी बंगला सेवाको रिपोर्टमा बंगलादेशका प्रधानमन्त्रीका सूचना तथा प्रसारण सल्लाहकार डा। जाहेद उर रहमानलाई उद्धृत गर्दै सीमाक्षेत्रमा घुसपैठ रोक्न बोर्डर गार्ड बंगलादेश ९बीजीबी० लाई सतर्क रहन निर्देशन दिइएको उल्लेख छ।
जाहेद उर रहमानका अनुसार अवामी लिगका हजारौँ नेता तथा कार्यकर्ता विदेशमा छन् र उनीहरूविरुद्ध विभिन्न मुद्दा दर्ता भएका छन्।
उनले डिसेम्बर आसपास कुनै अभियुक्त देशभित्र प्रवेश गर्ने प्रयास गरेमा पक्राउ गरी कानुनी प्रक्रियाअनुसार कारबाही गर्न सकियोस् भन्ने उद्देश्यले सीमाक्षेत्रमा सतर्कता बढाइएको बताएका छन्।
यो भनाइ महत्वपूर्ण छ। यसले सरकार हसिनाको स्वदेश फिर्तीलाई एक व्यक्तिको फिर्तीका रूपमा मात्रै हेरिरहेको छैन भन्ने देखाउँछ। सरकारको चिन्ता देशबाहिर रहेका अवामी लिगका नेता तथा कार्यकर्ताहरूलाई लिएर पनि छ।
यद्यपि, सरकारको यस आशंकालाई ठूलो स्तरमा घुसपैठ भएको पुष्टि गर्ने तथ्यका रूपमा लिनु हुँदैन। यो सरकारले आफ्नो सुरक्षा व्यवस्थाबारे व्यक्त गरेको धारणा मात्र हो।
३. सरकारको धारणा यति कठोर किन छ ?
हसिनाको स्वदेश फिर्तीलाई लिएर बंगलादेश सरकारका दुई वरिष्ठ अधिकारीले दिएका बयानले यस विषयमा सरकारको दृष्टिकोण बुझ्न मद्दत गर्छ।
विदेश मामिला राज्यमन्त्री हुमायुँ कबिरले नोभेम्बर २४ मा विदेशी कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “शेख हसिनालाई कडा निगरानीमा हथकडी लगाएर मात्रै देशमा ल्याउन सकिन्छ।”
उनले कुनै अभियुक्तलाई सामान्य यात्रुका रूपमा देशमा प्रवेश गर्न अनुमति दिन नसकिने बताए।
उनले अवामी लिगमाथि आतंकवादलाई प्रोत्साहन गरेको आरोपसमेत लगाए। उनका अनुसार बंगलादेशमा आतंकवादको सम्बन्ध अवामी लिगसँग छ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक मोहम्मद अमिनुल इस्लामले हसिनाका लागि विमान पठाइदिन गरिएको मागलाई ‘अभूतपूर्व’ बताएका छन्।
बीबीसी बंगला सेवाको रिपोर्टअनुसार उनले कुनै फरार दोषीका लागि अर्को देशसँग विमान माग्ने घटना विश्वमा विरलै हुने बताएका छन्।
उनले अवामी लिगलाई आतंकवादी संगठन घोषणा गर्नुपर्ने हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको पनि बताए। उनका अनुसार अनुसन्धानबाट पार्टीलाई आतंकवादी संगठन प्रमाणित गरिएमा सरकारले वा न्यायाधिकरणले त्यसविरुद्ध कानुनी कारबाही गर्न सक्छ।
यसको अर्थ हसिनाको स्वदेश फिर्तीसँगै अवामी लिगको संगठनात्मक तथा कानुनी अवस्थाको प्रश्न पनि अगाडि आएको छ।
४. भारतको धारणा के छ ?
शेख हसिनाको स्वदेश फिर्तीमा भारतको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेछ। उनी सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् र बंगलादेश सरकारले यसअघि नै उनको प्रत्यर्पणको माग गरिसकेको छ।
भारत र बंगलादेशबीच सन् २०१३ मा प्रत्यर्पण सन्धि भएको थियो। बंगलादेशले यही सन्धिअन्तर्गत हसिनालाई फिर्ता ल्याउन माग गरिरहेको छ।
तर, सन्धि हुनुको अर्थ भारतले उनलाई बंगलादेशको जिम्मा लगाउनैपर्छ भन्ने स्वतः निश्चित हुँदैन।
सन्धिमा केही परिस्थितिमा प्रत्यर्पण अस्वीकार गर्न सकिने प्रावधानहरू छन्। त्यसमध्ये राजनीतिक प्रकृतिका अपराधसँग सम्बन्धित अपवाद पनि समावेश छ। यद्यपि, केही गम्भीर अपराधहरू उक्त अपवादको दायराभन्दा बाहिर राखिएका छन्।
भारतको विदेश मन्त्रालयले सन् २०२६ अप्रिलमा बंगलादेशको प्रत्यर्पण अनुरोधमाथि अध्ययन गरिरहेको र नयाँ सरकारसँग रचनात्मक संवाद गर्न चाहेको बताएको थियो।
तर, ढाका ट्रिब्युनका अनुसार बंगलादेश सरकारका सूचना तथा प्रसारण सल्लाहकार जाहेद उर रहमानले नोभेम्बर २४ मा महत्वपूर्ण बयान दिएका छन्।
उनले हसिनाको स्वदेश फिर्तीका विषयमा सरकारको वार्ता हसिनासँग नभई भारतसँग भइरहेको बताएका छन्। हसिनालाई स्वदेश फर्काउने प्रक्रियाबारे भारतसँग छलफल गरिने उनको भनाइ थियो।
उनका अनुसार यदि हसिना फर्किन चाहन्छिन् र बंगलादेश पनि उनलाई फिर्ता चाहन्छ भने भारतले उनलाई बुझाउन हिचकिचाउनु हुँदैन।
यो बयानले विदेश मामिला राज्यमन्त्रीको हथकडीसम्बन्धी बयानभन्दा फरक पक्ष उजागर गर्छ। बंगलादेश सरकार हसिनासँग प्रत्यक्ष वार्ता गर्नुको सट्टा भारतसँग उनको प्रत्यर्पण प्रक्रियाबारे छलफल गर्न चाहन्छ।
५. राहदानी रद्द भएको अवस्थामा हसिना कसरी बंगलादेश फर्किन सक्छिन् ?
हसिनाको स्वदेश फिर्तीको बाटोमा एउटा ठूलो व्यावहारिक अवरोध उनको राहदानी हो।
बंगलादेश सरकारले सन् २०२४ अगस्टमा उनी भारत आएको केही महिनापछि उनको कूटनीतिक राहदानी रद्द गरिदिएको थियो।
हसिनाले अहिले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएकी छन्। उनले बंगलादेश सरकारसँग यी कागजात जारी गरिदिन माग गरेकी छन्।
उनका प्रवक्ताका अनुसार जसरी हसिनालाई बंगलादेशको विमानबाट भारत ल्याइएको थियो, त्यसरी नै अब उनलाई स्वदेश फर्काउने व्यवस्था पनि सरकारले गर्नुपर्छ।
तर, बंगलादेश सरकारले उनको यो माग अस्वीकार गरेको छ।
६. बंगलादेश फर्किएपछि हसिनालाई के हुनेछ ? मृत्युदण्ड कार्यान्वयन हुन सक्छ ?
सन् २०२४ जुलाईमा भएको जनविद्रोहपछि शेख हसिना अगस्ट २०२४ मा ढाकाबाट भारत आएकी थिइन्।
नोभेम्बर २०२५ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो।
यो मुद्दा सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसा तथा दमनसँग सम्बन्धित थियो। संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १,४०० मानिस मारिएका थिए।
हसिनाले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गरेकी छन्। उनको भनाइमा मुद्दा उनको अनुपस्थितिमा चलाइएको थियो र आफ्नो पक्ष प्रस्तुत गर्ने उचित अवसर दिइएको थिएन।
अब प्रश्न उठ्छ—यदि उनी बंगलादेश फर्किइन् भने फैसलाविरुद्ध पुनरावेदन गर्ने अवसर पाउनेछिन् ?
एसोसिएटेड प्रेसको नोभेम्बर २४ को रिपोर्टअनुसार हसिनासँग फैसलाविरुद्ध पुनरावेदन गर्न निर्धारित ३० दिनको समयसीमा थियो, जुन बितिसकेको छ।
अभियोजन पक्षका अनुसार अब उनको मृत्युदण्ड कार्यान्वयन रोक्ने सामान्य कानुनी बाटो बाँकी छैन। यद्यपि, राष्ट्रपतिसँग क्षमादान दिने अधिकार छ।
त्यसैले उनको स्वदेश फिर्तीपछि सबैभन्दा पहिले पक्राउ र सजाय कार्यान्वयनसँग सम्बन्धित कानुनी प्रक्रियाको प्रश्न अगाडि आउनेछ।
बंगलादेश पुगेको तत्कालै उनको मृत्युदण्ड कार्यान्वयन भइहाल्छ भन्नु भने उचित हुँदैन।
बीबीसी हिन्दीबाट
















प्रतिक्रिया