बुटवल । नेपाली मौलिक खानाका परिकार, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा पाँचदिने खाना महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवल-११ देवीनगरस्थित खुला मञ्चमा बिहीबारदेखि ‘बुटवल खाना महोत्सव’ सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै आर्थिक गतिविधि चलायमान बनाउन सकिने प्रशस्त सम्भावना रहेको बताए । बुटवलका सबल पक्ष र सम्भावनाको पहिचान गरी योजनाबद्ध रूपमा विकासका गतिविधि अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघका केन्द्रीय महासचिव राजेश महतराले महासंघको सप्ताहव्यापी स्थापना दिवस सञ्चालन भइरहेको जानकारी दिए । उनले सहरको भौतिक विकास भए पनि व्यवसायीहरूको आर्थिक अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको बताए ।
होटल व्यवसायीलाई विकासका साझेदारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले होटल व्यवसायीको सहभागिताबिना पर्यटन क्षेत्रको विकास सम्भव नहुने धारणा राखे । यस विषयमा पटक-पटक आग्रह गर्दै आए पनि अपेक्षित सहकार्य हुन नसकेको उनको भनाइ थियो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवलाई खानाका परिकारको स्वाद लिन र मनोरञ्जन गर्न सकिने आकर्षक गन्तव्यका रूपमा विकास गर्न सुझाव दिइन् । खुला मञ्चलाई व्यवस्थित कार्यक्रमस्थलका रूपमा विकास गर्ने उद्देश्य राखिए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै उनले महोत्सवमा स्थानीय तथा मौलिक खानाका परिकारका स्टललाई प्राथमिकता दिनुपर्ने बताइन् ।
संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले कालिकापथलाई रात्रिकालीन बजारका रूपमा विकास गर्ने अवधारणा स्थानीय सरकारले अघि सारे पनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले खाना महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले सबै वर्ग र समुदायका नागरिकलाई सहभागी हुन सहज भएको उल्लेख गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेय तथा वरिष्ठ सल्लाहकार माधव नेपालले व्यवसायलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष माधवकुमार खनालले विभिन्न स्थानमा आयोजना हुँदै आएको खाना महोत्सव यसपटक बुटवलको खुला मञ्चमा आइपुगेको बताए । खुला मञ्चलाई स्थायी रूपमा विभिन्न कार्यक्रम आयोजना गर्न सकिने व्यवस्थित स्थलका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
महोत्सवको उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । यसैबीच, महोत्सवको प्रचारप्रसारका क्रममा आयोजित र्यालीमा सहभागी विभिन्न संघसंस्थालाई सम्मानपत्र प्रदान गरिएको संघका महासचिव केशव कँडेलले जानकारी दिए ।
महासचिव कँडेलका अनुसार देशभर होटल तथा रेस्टुरेन्ट व्यवसायमा करिब ८५ हजार व्यवसायी आबद्ध छन् ।
















प्रतिक्रिया