२६ बैशाख २०८१, बुधबार | May 8, 2024

नेपाली नेताहरुको पाइन नापेर फर्किए ‘रअ’ प्रमुख गोयल



काठमाडौं । बुधबार दिउँसो १ बजे विशेष विमानमार्फत काठमाडौ ओर्लिएका भारतीय बाह्य गुप्तचर विभाग रअका प्रमुख सामन्तकुमार गोयल नेपालका राजनीतिबारे प्रत्यक्ष बुझेर स्वदेश फर्किएका छन् ।

नेपालमा २१ घण्टा बिताएका गोयल बिहीबार बिहान १० बजेर ८ मिनेटमा स्वदेश फर्किएका छन् । नेपालमा अहिलेको समयमा गोयलको आकस्मिक भ्रमण किन र के का लागि ? यो प्रश्नको उत्तर नेपालका नेताहरुले इमान्दारितापूर्वक नदिएसम्म यो भ्रमण रहस्य र अनुमानकै भरमा रहने छ ।

विशेष मिसनका साथ नेपाल आएका गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्रीदेखि सत्तारुढ दल एवं प्रतिपक्षी दलका शिर्ष नेताहरुलाई भेट गरेको नेपालको सुरक्षा निकायले दाबी गरेको छ । तर, कुनै यौटा देशको गुप्तचरले अर्को देशको सरकार प्रमुख र राजनीतिक दलका नेताहरुसँग गर्ने भेट औपचारिक हुने प्रश्नै भएन । गुप्तचरले गोप्य ढंगले नै भेटघाट गर्ने कुरा सामान्य व्यक्तिले समेत थाहा पाउने कुरा हो । त्यस्ता भेटमा तेस्रो व्यक्ति नरहने कारण के छलफल भयो भन्ने कुरा अड्कलका विषय मात्रै हुन् ।

नेपालको आन्तरिक राजनीतिमा दुई तीन वर्षअघिसम्म माइक्रोम्यानेजमेन्ट गर्दै आएको भारतीय गुप्तचरहरुको चलखेल यसबीचमा केही घटेको थियो । तर, नेपालकै नेताहरुका कारण रअले पुनः टाउको उठाउने मौका पाएको छ । र यस्ता भेटघाटले पुनः स्थान पाउन थालेका छन् ।

रअका प्रमुखले छिमेकी देशका प्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष र वरिष्ठ नेतादेखि विपक्षी दलका प्रमुखसँग भेटेर सो देशको सबै गतिविधिबारे बुभ्नु भारतका लागि पक्कै पनि सफलताको विषय हो । आफ्नै पार्टीभित्रको आन्तरिक राजनीतिक बुझाईलाई एक गर्न नसक्ने नेताहरुले छिमेक नीति र विदेश नीतिमा अहिलेसम्म समान धारणा बनाउन सकेका छैनन् । इतिहासदेखि आजसम्मको यही तीतो यथार्थलाई भारतले भरपुर उपयोग गरेको छ । यसपटक हाम्रा नेताहरुले आन्तरिक राजनीतिमा मेल नभएपनि बाह्य कुटनीतिक मामिलामा राष्ट्रिय हित अनुकुलै आफ्ना कुराहरु राखेहोलान भनेर विश्वास गरौं ।

राष्ट्रवादको जगमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको निर्देशन विना कुटनीतिक उन्मुक्ति प्राप्त भारतीय वायु सेनाको विमान नेपालमा २१ घण्टासम्म रहनसक्ने विश्वास समान्य मान्छेले पनि गर्नै सक्दैन । हुन त यस्ता भेटघाट पहिला पनि हुने गरेका हुन् । नियमित हवाई उडान नहुँदा सामन्त गोयलका लागि विशेष चार्टड विमानको आवश्यकता परेको हुनसक्छ । परराष्ट्रमन्त्रालयले त्यसैअनुसार समन्वय गरेको होला । तर, आन्तरिक सत्तारुढ दलभित्रको आन्तरिक राजनीति धमिलिएको बेला, सरकारका कतिपय जनविरोधी निर्णयका कारण सरकार विरुद्ध आलोचना बढिरहेका बेला सामान्य गोयलले छनौट गरेको नेपाल भ्रमणको समय काकताली मात्रै हो भन्न चाहीँ अप्ठेरो छ ।

परराष्ट्रविज्ञ एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठका अनुसार गुप्तचरहरुसँग नेपालका अधिकारी र नेपाली नेताहरुको भेटघान नौलो होइन । धेरै अघिदेखि यस्तो हुँदै आएको थियो । यस्ता भेटघाट वर्षेनी भैरहेका हुन्छन् । नेपालको अवस्था, नेपालीहरुको अडानबारे बुझ्न खोज्नु उनीहरुको उद्देश्य हो ।

परराष्ट्र मन्त्रालयलाई समेत औपचारिक जानकारी नदिई गरिने गुप्तचरहरुलाई निमन्त्रणा र वान टु वान छलफलबाट देशले प्राप्त गर्न सक्ने भनेको वैदेशिक हस्तक्षेप सिवाय अरु केही हुन सक्दैन, यदि, त्यस्ता भेटभाटमा नेताहरुले राष्ट्रका लागि बाह्य रुपमा राख्ने पूर्व अडानमा कायम रहेनन् भने ।

यसपाला भएको छ त्यस्तै । रअका प्रमुखले प्रधानमन्त्री ओलीसँग मध्यरातमा प्रधानमन्त्री निवासमा भेट गरेका छन् । त्यसअघि सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसँग अलगअलग भेट गरेको नेपालका सुरक्षा अधिकारीहरुले दाबी गरेकाछन् । स्वभाविक रुपमा भेटलाई अध्यक्ष प्रचण्डको सचिवालयले अस्वीकार गरेको छ । गुप्तचरहरुसँग भएको भेटबारे न त पार्टीका अन्य नेतासँग सेयर हुन्छ न त प्रेसलाई नै बताउनुपर्ने दायित्व हुन्छ । यस्तो भेट अपारदर्शी नै हुन्छ, कसैलाई बताउन नपर्ने गरी र कहिल्यै स्वीकार गर्न नपर्ने गरी ।

सामान्य गोयलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् । र, उनले जनता समाजवादी पार्टीका नेताहरुसँग पनि भेट गरेका छन् । भेटबाट गोयलले प्राप्त गरेको उपलब्धी नेपालबारे नेपाली नेताहरुको विश्वासको पाइन नाप्नु नै हो । जुन उनले हासिल गरेका छन् ।

विगत एकवर्षयता भारतसँग नेपालको बिग्रिएको सम्बन्ध सुधार गर्न नेपाली नेताहरुको अभिव्यक्ति गोयलका लागि महत्वपूर्ण औजार हो जसको सुझावमा सेभेन रेसकोर्स र साउथ ब्लकले नेपाल नीतिमाथि समीक्षा गर्न सक्छ । यही नै उपलब्धी हो गोयलको र भारतको । खाली प्रश्न र आशंका यहाँ नेर रहन्छ कि हाम्रा नेताहरुले राष्ट्रिय हित र स्वाधिनताका लागि राखिएका पूर्व अडानमा कायम रहन्छन् कि रहँदैनन् भन्ने हो । तर, आफैले चुनेका नेताहरुलाई शंकाको सुविधा दिनुको विकल्प भने जनतासँग हुँदैन । परराष्ट्रविज्ञ श्रेष्ठ भन्छन् श्रेष्ठ भन्छन्, ‘सकेसम्म यस्ता यस्ता खाले भेटघाट नगर्नु नै उचित हुन्छ । तर भएरै छोड्ने भेटघाटमा नेपाली नेताहरुले आफ्नो अडानलाई स्पष्टसँग राख्नसक्नुपर्छ । राष्ट्रले राख्दै आएको अडानलाई छोड्नु हुँदैन ।’

कहिलेकाहीँ हुन त दुई मुलुकबीचको सम्वारदहीनता तोड्न पनि यस्ता भेटघाट सहयोगी समेत बन्न सक्छन् । यतिबेला भारत र नेपालबीच सम्बन्ध नसङ्ग्लिसकेको अवस्थामा सम्बन्ध सुधारको गुप्तचर डिप्लोमेसी पनि हुनसक्छ । तर, विदेशी गुप्तचर प्रमुखलाई यसरी रातो कार्पेट विच्छाएर स्वदेश निम्ता गरिसकेपछि राष्ट्रलाई त्यसको मकसदबारे जानकारी गराउनु सरकारको कर्तव्य हुनुपर्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १ : ०० बजे

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले