१० असार २०८३, बुधबार | June 24, 2026

नेताहरुको इगोले कुच्चिएका नेकपा र काँग्रेस : बस्दैनन् निर्धारित समयमा कहिल्यै बैठक



काठमाडौं । देशका दुई मुख्य राजनीतिक दलहरुको आन्तरिक विवादले ती दलको संगठनात्मक कार्यक्षमता ह्रास हुँदै गएको देखिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद पार्टी फुटकै अवस्थामा पुगेको छ । कुनै राजनीति, दर्शन र सिद्धान्त भन्दा पनि शिर्ष नेतृत्वबीच व्यक्तित्वको टकराव र स्वास्र्थका कारण देखिएको विवादले उग्र रुप लिँदा नेकपा राजनीतिक पार्टी नभएर यौटा संयुक्त मोर्चा जस्तो देखिएको छ ।

वर्ष २०७७ भित्र मात्रै नेकपामा अहिलेसहित तीन पटक ठूलो आन्तरिक झगडा भएको छ । अघिल्ला दुई पटकसम्म युद्ध विराम गरेका नेताहरुले यसपटक के गर्छन् त्यो हेर्न भने बाँकी नै छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधव कुमार नेपाल पक्षबीचको गुटगत लडाईं अहिले संसदको विशेष अधिवेशन आह्वानका लागि हस्ताक्षर संकलन र गुटगत भेला एवं एक अर्कोलाई नंग्याउने अवस्थासम्म पुगेको छ । दुवै गुटहरु यतिबेला पार्टी विभाजनको फायर कसले पहिला खोल्ने भन्ने तम्तयार अवस्थामा मात्रै रहेका छन् ।

अर्कोतिर, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवस्था पनि नेकपाको जस्तै नै छ । आफुलाई प्रजातन्त्रको एकमात्र ठेकेदार ठान्ने नेपाली काँग्रेसभित्र प्रजातान्त्रिक अभ्यास समाप्त हुँदा राजनीतिक र वैचारिक र सांगठनिक रुपमा पार्टी खिईंदै गएको छ भने शिर्ष नेतृत्व बीचको झगडाले पार्टी गतिहिन भएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको टकरावले आगामी महाधिवेशन समेत प्रभावित हुने देखिन्छ । काँग्रेसको बैठक पनि बारम्बार बोलाउने र स्थगित गर्ने हुँदै आएको छ, नेकपाको जस्तै ।

नेकपामा यसअघि ओली र प्रचण्डलाई रहर लाग्दा बैठक बस्ने गरेको थियो । अहिले पार्टीका कार्यकारी अध्यक्ष बैठकको आग्रह गर्दै अर्का अध्यक्षसँग विन्ती बिसाउनुपर्ने अवस्था आइसकेको छ ।

काँग्रेसमा सभापति देउवाले इच्छाएको समयमा मात्रै बैठक बस्ने प्रवृत्ति छ । पार्टी दुई विपरित विचारधाराका भए पनि कार्यशैली नेकपा र काँग्रेसका नेताहरुको यौटै रहेको छ ।

काँग्रेसले आज सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक फेरि कात्तिक २७ गतेसम्मका लागि स्थगित गरेको छ । गत असोज १९ गते बोलाइएको बैठक कोरोना संक्रमणका कारण स्थागित गरेको काँग्रेसले फेरि कात्तिक २१ गते बैठक बोलाएको थियो । त्यो बैठक पनि पुनः आजका लागि सारिएकोमा अब फेरि २७ गतेलाई सारिएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक २७ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

गत असोज १२ गते मा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १६ बुँदे विरोध पत्र दर्ता गरेपछि काँग्रेस विवाद पनि उत्कर्षमा पुगेको थियो । यद्यपी, काँग्रेसले सो पत्रबारे पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग पटकपटक छलफल गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले सभापति देउवाले गठन गरेका विभागलाई यथावत राख्दै क्रियशील सदस्यता तथा समायोजन लगायतका एजेन्डामा सहमतिको प्रस्ताव आउँदो केन्द्रीय कार्यसमितिमा पेश गर्ने समझदारी गरेको छ ।

उता, कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि बोलाइएको नेकपा केन्द्रीय कमिटिको बैठक यसअघि नै मंसिर १५–१७ का लागि सारिएको छ । तर, अध्यक्षद्वय ओली र प्रचण्डबीच बढेको कटुताका कारण सचिवालय बैठक समेत बस्न नसकेकेको अवस्थामा नेकपाको मंसिरे बैठक पनि हुनेसम्भावना क्षिण बन्दै गएको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ३५ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया