२७ श्रावण २०८३, बुधबार | August 13, 2026

मनाइयो लक्ष्मीपूजा



काठमाडाैं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइयो ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो ।

लक्ष्मीपूजाको दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ। घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।

घरका अतिरिक्त व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको थियो । उपत्यकामा दसैंको भन्दा बढी नै चहलपहल देखिए पनि कोरोना महामारीका कारण विगत वर्षमा जस्तो भने मानिस बजारमा निस्किएका छैनन । लक्ष्मीपूजाको साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन ।

भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्‍ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो,” उनले भने ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : १३ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको