२० मंसिर २०८२, शनिबार | December 6, 2025

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी



नाउरा । म्याग्दीको धवलागिरि गाउँपालिका-४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ ।

हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष घर्तीले लगानीकर्ता खोज्ने काम पनि भइरहेको जानकारी दिए । “बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्र्याक खोलिसकेका छौँ”, उनले भने, “मनसुन अघिसम्म विद्युत्गृह र आगामी मङ्सिरसम्म बाँधलाई पहुँचमार्गले जोड्छौँ । थपिएको क्षमताको इआइए पारित भएपछि पिपिए र लगानीको सम्झौता हुन्छ ।”

आयोजनाले करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरिरहेको छ । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत्गृह म्याग्दीखोला र मुदीखोलाभन्दा एक किलोमिटरमाथि प्रस्ताव गरिएको छ ।

तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ । आउटलेटबाट विद्युत्गृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनबाट डाँडाखेत सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ ।

धवलागिरि गाउँपालिका-४ का वडा सदस्य केशरमान पुनले मालिका गाउँपालिका-७ बिममा १३२ केभी क्षमताको डाँडाखेत सबस्टेशन निर्माणको तयारी भएसँगै अपर म्याग्दीलगायत जलविद्युत् आयोजनाले निर्माणको तयारी थालेको बताए । “वर्षौँअघि पिपिए गरेर जेनेरेशन लाइसेन्स लिएर बसेका आयोजना सबस्टेशन र प्रसारण लाइन निर्माण शुरु हुन थालेपछि सक्रिय भएका छन्”, उनले भने, “जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम क्षेत्रका बस्तीमा सडक यातायातको पहुँच बढ्ने, रोजगारी र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा छ ।” गाउँपालिकाले यस वर्ष पहुँचमार्गमा पर्ने खाराबाट खाम्ला जोड्ने सडक निर्माण गर्न ठेक्का लगाइसकेको छ ।

सार्वजनिक सुनुवाइमा आयोजना प्रभावित खाम्लाका रेशमबहादुर पुन, चेचुङका चक्रबहादुर घर्ती, कुलबहादुर घर्तीलगायतले वातावारणीय असर न्यूनीकरणमा ध्यान दिन, छिटो आयोजना निर्माण शुरु गर्न र स्थानीयवासीलाई रोजगारीको अवसर दिन सुझाव दिएका थिए । परामर्शदाता इनर्जी रिसोर्स एण्ड सोलुसुनका शङ्कर बस्यालले रु सात अर्ब १० करोड लागत अनुमान गरिएको आयोजनाको २०७८ पुसमा सुरुङ निर्माण शुरु गरी तीन वर्षमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत रु छ करोड बढी लगानी हुने बस्यालले बताए ।

धवलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट थप चार आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् ।

धवलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको दुई वर्षअघि शिलान्यास गरे पनि गति लिनसकेको छैन । धवलागिरि गाउँपालिकामा २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’, १५ मेगावाट क्षमताको धौलाखोला, ४.६ मेगावाट क्षमताको तिरिजाखोला, १२.७३ मेगावाट क्षमताको अपरमुदी, ३.४५ मेगावाट क्षमताको सिम्कोश र ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना सर्वेक्षणको क्रममा छन् ।

नेपाल विद्युत् प्राधिकरणले डाँडाखेत र राहुघाटमा सबस्टेशन तथा प्रसारण लाइन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेपछि अनुमति लिएर बसेका आयोजनाले निर्माणको तयारी थालेको जनाएका छन् । रासस

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ०० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय