१ आश्विन २०८३, बिहिबार | September 18, 2026

काउलेका भूकम्पपीडितले बैशाखभित्र नयाँ घर पाउँदै



गलकोट । भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण सुरु भएको छ ।

वि.सं. २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण क्षति पुर्‍याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण सुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ ।

एकाइका प्रमुख उमेशकुमार चौधरीका अनुसार ढिलै भए पनि एकीकृत बस्ती निर्माण सुरु गरिएको छ । अहिले एकीकृत बस्तीको भुइँतलाको डीपीसी सम्पन्न भएको छ । वि.सं. २०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार दुई लाख रुपैयाँ दिइएको थियो ।

एकीकृत बस्ती निर्माण गर्न प्रतिपरिवार तीन लाख रुपैयाँ र पूर्वाधार निर्माणका लागि प्रतिपरिवार चार लाख रुपैयाँ गरी एकीकृत बस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा ९० लाख रुपैयाँ खर्च गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइकी प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिइन ।

पाण्डेका अनुसार पछिल्लो समय बागलुङमा पुनर्निर्माण प्राधिकरणले गति लिएको छ। अहिलेसम्म ६६ प्रतिशतभन्दा बढी निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ । भूकम्पपीडितको घर धमाधम निर्माण भइरहेको र केही महिनाभित्रै अरु पूर्वाधार निर्माणको कामसमेत सुरु गरिने एकाइका इञ्जिनियर विक्रम सापकोटा बताउँछन । “अहिले डीपीसीको काम भइरहेको छ, आगामी वैशाखभित्रै काम सक्ने लक्ष्य रहेको छ,” सापकोटाले भने, “सँगै बस्तीमा अरु पूर्वाधारको कामसमेत सुरु गरिने छ ।”

भूकम्पले क्षति पुर्‍याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले जमिन भासिएपछि स्थानीय १० घरधुरीका बासिन्दा विस्थापित भएका थिए । विस्थापित परिवारलाई लालपुर्जा वितरण गरेको एक वर्षपछि घर निर्माण थालिएको र घर सम्पन्न भइसकेपछि सम्बन्धित परिवारको नाममा लालपुर्जा कित्ताकाट गरिने छ। आगामी वैशाखभित्रै निजी आवास र पूर्वाधारको निर्माण सकेर हस्तान्तरण गर्ने प्राधिकरणको योजना छ ।

एकीकृत बस्तीमा घरसँगै सडक, विद्युत, खानेपानी, सार्वजनिक शौचालय, सार्वजनिक भवनलगायतका पूर्वाधारसमेत निर्माण गरिने छ । बस्ती निर्माण स्थलमा सडक नपुगेका कारण निर्माण सामाग्री बोक्न समस्या भएको छ । भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका १० दलित परिवारले वैशाखभित्रै नयाँ घर पाउने भएका छन । “भूकम्प गएको पाँच वर्षसम्म अरुकै घरमा आश्रित लिएर बस्न बाध्य भएका छौँ,” पीडित चिन्ते दमैले भने, “लालपुर्जा हातमा आएर घर निर्माण सुरु हुँदा ढिलै भए पनि नयाँ घर पाउने भएपछि खुसी छौँ ।”

जग्गा खरिद गर्न प्रतिपरिवार दुई लाख रुपैयाँ, पूर्वाधार निर्माणका लागि चार लाख रुपैयाँ तथा नमूना बस्ती निर्माणका लागि तीन लाख रुपैयाँ गरी प्रतिपरिवार नौ लाख रुपैयाँ खर्च लाग्ने छ ।

बस्ती तल र माथिबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भएको र भूकम्पले जमिन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूगर्भ विभागको ठहरपश्चात अन्यत्रै एकीकृत बस्ती निर्माण गर्ने सुझावअनुसार प्राधिकरणले बस्ती निर्माण थालेको हो । रासस

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ०६ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा