शारीरिक एवं मानसिक रुपमा तरङ्गित बनाउने कोरोना विरुद्धको खोप

शरण कर्माचार्य
९ फाल्गुन २०७७, आईतवार

कोरोना विरुद्धको खोप लगाउन भनेपछि झण्डै ३ वटा कार्यक्रम छाडेर बुटवलका पत्रकार विकास पराजुली खोप लगाउन बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । पत्रकार महासंघले संयोजन गरेर सरकारको दोस्रो चरणको खोप अभियान सुरुभएकै दिनमा खोप लगाउन पाउँदा विकास खुसी पनि थिए । निम्ता पाएको कम्तिमा ४ वटा कार्यक्रम छाडेर खोप लगाउन प्रादेशिक अस्पताल पुगेर खोप लगाएको ८–९ घण्टा उनलाई केहि भएन । आनन्दले बाँकी कामहरु सम्पन्न पनि गरे । तर रात छिप्पिँदै गयो, खोपको प्रभावपनि बढ्दै गयो । फागुन महिनाको सुरुवातसँगै बढ्न थालेको गर्मीको गतिले उनलाई पटक्कै छोएन । शरीर लुगलुग काप्न थाल्यो, मुख सुक्न थाल्यो र हनहनी ज्वरो बढेर आयो । एकमन त लाग्यो बेकारमा खोप लगाइएछ । अर्को मनले भन्यो प्रभाव देखिन्छ भन्थे त्यही होला । लगातार ३ टेबलेट सिटामोल खाएपछि भने ज्वरो नियन्त्रणमा आयो ।

पत्रकार महासंघ रुपन्देहीका तर्फबाट आफुले पनि खोप लगाउँदै र अन्य पत्रकारहरुको समन्वय गर्दै दिनभरी खटेका महासंघका जिल्ला उपाध्यक्ष दिनेश पाण्डे दिनभरी खोप लगाउने कार्यमा सहयोगी भएर खटिए । रातपरेपछि उनलाई पनि ज्वरो चक्र्यो । १ टेबलेट सिटामोलले पनि छोएन । मध्यरातको छटपटिकै बीच पाण्डेले फेसबुकमा स्टाटस लेखे “खोपको मज्जा आईराछ” ।

फागुन २ र ३ पत्रकारहरुका लागि खोप लगाउन छुट्याइएको दिन थियो । धेरै पत्रकारहरुले खोप केन्द्रमा पुगेर खोप लगाए । खोप लगाउने अधिकांसलाई राति थुरथुरी कमायो । हनहनी ज्वरो आयो । खोप लगाएका मध्य निकै कम पत्रकारलाई भने कुनै संकेत देखिएन । पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ दिनभरी खोप लगाउने कार्यमा खटिए, साँझ फुटसल खेले र त्यही राती साईक्लिङ पनि गरे । हल्का शरिर दुख्ने बाहेक उनलाई केहि भएन ।

पहिलो दिन खोपलगाएका पत्रकारहरुको सामाजिक सञ्जालका स्टाटस हेरेपछि अर्को दिन खोप लगाउने सुर कसेका कतिपय पत्रकारहरु खोप लगाउनै गएनन् ।

अहिले भारतले अनुदानमा दिएको कोभ्याक्सिनको खोप अभियान सञ्चालनमा छ । भारतले नेपाललाई १० लाख डोज कोभ्याक्सिन खोप अनुदानमा उपलब्ध गराएको थियो । भारतबाट थप २० लाख कोरोना खोप सरकारले खरिद गरेको छ । त्यसमध्ये पहिलो खेप त आइतबारै नेपाल आइपुगेको छ । बाँकी १० लाख डोज खोप पनि केही दिनमा आउँदैछ । खोप कुटनीतिमा एक पाइला अघि सरेर छिमेकीलाई उपलब्ध गराएको भारतले भने आफ्नो मुलुकको १ करोड जनसंख्यालाई मात्र खोप लगाएको छ । १ अर्ब ३५ करोड जनसंख्या भएको भारतमा बल्ल १ करोडले कोरोना खोप लगाउन पाएका छन् ।

जसका कारण, खोपको प्रभाव कति समयलाई हो ? खोप लगाएपछि पनि स्वास्थ्य सावधानी अपनाउन किन भनिएको छ ? खोप लगाएकालाई कोरोना हुनै सक्दैन भन्ने ग्यारेण्टी खोई ? भन्ने जस्ता प्रश्नहरु पनि खोपका बिषयमा उठाइएको छ । अर्थात, कतै ट्रायल फेजकै बीचमा खोप लगाइएको त छैन भन्ने आशंका पनि नेपालमा कतिपयले गर्ने गरेका छन् । तर, चिकित्सकहरुले भने खोप लगाउन सुझाव दिएका छन् ।

खोप लगाएपछि कोरोना हुन्न भन्ने कसैले ग्यारेण्टी नगरेकाले आफु खोप लगाउन नगएको नेपाल टेलिभिजन रुपन्देहीकी रिपोर्टर कमला पाण्डे बताउँछिन् । “सबै लक्षण मिल्दो ज्वरो आउँदा त कोरोना रिपोर्ट नेगेटिभ आयो, खोप किन लगाउने हो र ? म त लगाईन ।” उनले भनिन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल भने विश्व स्वास्थ्य संगठनले स्विकृत प्रदान गरेको र विषयगत विज्ञहरुले पनि ७० प्रतिशत भन्दा बढी प्रभावकारी भनेपछि नागरिकले खोप लगाउनु नै श्रयस्कर हुने बताउँछन् । कोरोनाले थलिएर निकै सास्ती खेपेका डा. खनालले खोप लगाउनु पूर्व सामान्य सिटामोलको जोहो गरेर खोप लगाउन उपयुक्त हुने बताए । अघिल्लो महिना मात्र कोरोना निको भएर कार्यक्षेत्रमा उपस्थित भएका डा. खनालले पनि खोप लगाएको र झण्डै २ दिन ज्वरोले ग्रस्त बनाएको बताउँछन् ।

बिश्व बजारमा खोप उत्पादनमा वर्चश्व राख्ने भारतले उत्पादन गरेको कोभिसिल्ड अहिले नेपालमा प्रयोग भईरहेको छ । स्वास्थ्य मन्त्रालयले चिनियाँ कम्पनी सिनोभ्याकले उत्पादन गरेको भेरोसेललाई पनि आपतकालिन स्वीकृत प्रदान गरिसकेको छ । चिनियाँ खोप नेपाल आइसकेको त छैन, तर चिनियाँ खोपले ज्वरो नआउने पो होकी भन्ने कतिपय व्यक्तिहरु पनि खोप केन्द्रमा देखिए । उनीहरुले चिनियाँ खोप आएपछि मात्र लगाउने समेत बताए ।

कोरोना भाइरसको महामारी पहिलो पटक चीनले नै ब्यहोरेका कारण उसले बनाएको खोप थप प्रभावकारी हुनसक्ने अनुमान पनि गरिएको छ ।

चीनबाट पनि खोप आएपछि सबै खोपको परिणाममुखी प्रभाव हेरेमात्र खोप लगाउने विचारमा छन् बुटवलका युवा पत्रकार कपिल ज्ञवाली । उनले सबैको प्रभाव हेरेर मात्र खोप लगाउने वा नलगाउने निर्णय गर्ने बताए । “चीनको सिनोभ्याक्स र डब्लुएचओले प्याकेजमा दिने कोभ्याक्सको खोप बजारमा आएर त्यसको प्रभाव देखिएपछि बल्ल खोप लगाउने वा नलगाउने निर्णय गरौंला”, उनले भने ।

खोपका बारेमा आएका केहि तर्कहरुका कारण पनि खोप लगाउन हिच्किचाउनेहरु देखिएका छन् । १८ वर्ष मुनिकाले खोप नलगाउने भनिएको छ, तर कारण बताइएको छैन । गर्भवती, वा बच्चालाई दुध खुवाईरहेकी महिलाले नलगाउने भनिएको छ, तर नलगाउनुपर्ने कारण खुलाइएको छैन । खोपलाई आम नागरिकमा विश्वस्त बनाउन खोपका सकारात्मक र नकारात्मक पाटोहरु केलाएर आम नागरिकलाई सुसचित गराउन जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*