२० मंसिर २०८२, शनिबार | December 6, 2025

जल रङमा जीवा



काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु-यो ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले शुरु गरेको ‘कोरौँ मुहारचित्र’अन्तर्गत धुम्म्रवाराहीमा जम्मा भएका चित्रकार सामु लामिछाने झण्डै तीन घण्टा घेरिए । कलाकारसामु निलो कोट, सफेद चश्मा लगाएर रातो मेचमा बसेका लामिछानेको मुहारमा चमक भरिएको पाइन्थ्यो ।

लामिछानेको मुहाराकृतिलाई क्यान्भासमा उत्कृष्टता प्रदान गर्न चित्रकार स्पर्धामै उत्रिएझैँ देखिएका थिए । चित्रकलाका विधामध्ये मुहार चित्र (पोट्रेट) चुनौतीपूर्ण विधा हो । दृश्य उतार्न जस्तो सजिलो हुन्न । मुहारका मसिना पक्ष र भाव व्यक्त गर्न कठिन हुन्छ । क्यारेक्टर बोल्नुपर्छ भन्छन् चित्रकार ।

विश्वमा मुहार चित्र बनाउने विधा प्रख्यात भए पनि नेपालमा खासै प्राथमिकतामा नपरेको हुँदा त्यसलाई व्यावसायिकतामा ढाल्न अभियानको शुरुआत गरिएको हो भन्छन् समाजका अध्यक्ष एनबी गुरुङ ।

नेपाली चित्रकारको रुचि दृश्य चित्रमा बढी छ । दृश्य चित्र बनाउने कलकार नै कहिलेकाहीँ मुहार चित्रमा पनि कुची चोब्छन् । त्यसैको स्वरुप हो गैरआवासीय नेपाली लामिछानेको प्रत्यक्ष हेरेर बनाइएको मुहार चित्र । यसपालि दोस्रो संस्करणमा उनको मुहार केलाउन अध्यक्ष गुरुङसँगै डिराम पाल्पाली, आलोक गुरुङ, ओम गुरुङ, डिबी राई, किरण सिगु, पक थापा सहभागी भए ।

कलाकारसामु उभिएका लामिछाने भन्छन्, “मुहार चित्र अग्र्यानिकजस्तो लाग्छ, फोटोग्राफी होइन, यो त प्राकृतिक कला हो, आम मानिससँगै मेरो पनि ठूलो रुचिको विषय नहुने कुरै भएन, त्यसैले एकै प्रस्तावमा सरिक भएँ ।” कलाकारले उनको मुहार हेर्दै जलरङमा कुची चोबेर शनिबार सात कोणबाट क्यान्भास भरे ।

लाइभ पोट्रेटको अवलोकन गर्न पुगेका द स्कूल अफ साइकोलोजी नेपालका संस्थापक पदम जोशी लाइभ पोट्रेट मनोविज्ञानका हिसाबले पनि महत्वपूर्ण रहेको बताउँछन्। “यसलाई मनोविज्ञानमा आर्ट थेरापी भनिन्छ, लाइभ मोडलमा बस्दा एक किसिमको आनन्द महसुस हुन्छ, सकारात्मक सोचको विकास हुन्छ, सेल्फ केयर र आनन्ददायी हुँदा खुशीको तह धेरै बढाउने अध्ययनले देखाएको छ”, जोशीले भने ।

कार्यक्रम संयोजक एनबी गुरुङ मुहार चित्रलाई ग्ल्यामराइज गर्न मुहार चित्र कोर्ने अभियान थालेको बताउँछन् । चल्तीका कलाकार मात्रै होइन, नयाँ कलाकारलाई पनि प्रेरणा दिन सकौँ भन्ने उद्देश्य उनको छ । कला साहित्यको पारखी लामिछानेले प्रस्ताव राख्नेबित्तिकै सहज स्वीकार गरेर कलाकारलाई प्रेरणा दिएको गुरुङ सुनाउँछन् ।

लेखक लामिछानेले कलाकारसामु बसेर मुहार चित्रमा सहभागी हुन पाएकामा खुशी व्यक्त गरे । पोट्रेट परम्परागत चलन हो । आदिम युगमा ओढार, गुफामा पनि यसरी चित्र कोरिएका थिए । फोटोग्राफी आधुनिक युगमा शुरु भएको विधा हो ।

लामिछानेका अनुसार कला, साहित्य अजरअमर भएर बसिरहने हुँदा जीवनकै एउटा भाग हो । विकसित देशमा राज्यले नै आर्थिक हिसाबले मात्रै नभई हरेक क्षेत्रबाट सम्मान, संरक्षण भइरहेको हुन्छ । राज्य, निजी क्षेत्र र कलाकार सबै मिलेर कला–साहित्यको जगेर्न गर्नुपर्नेमा उनको जोड छ ।

यसअघि कलाकारले ‘कोरौँ मुहारचित्र’ को पहिलो संस्करणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लगायतका मुहार चित्र क्यान्भासमा भरिसकेका छन् ।

बेलायतीको देखासिकीबाट नेपालमा मुहार चित्र बनाउने विधा भित्रिएको मानिन्छ । यसको श्रेय राणा प्रधानमन्त्री जङ्गबहादुरलाई जान्छ । भाजुमान चित्रकारले सन् १८५० को दशकमा बेलायत गएर सीप सिकेको कलाकार बताउँछन् । पछि चित्रकारले जङ्गबहादुरकै चित्र बनाएका कला समीक्षक रमेशनाथ खनाल बताउँछन्। दिलबहादुर चित्रकार, मास्टर चतुररत्न, अमर चित्रकार, चन्द्रमान मास्के, बालकृष्ण सम, तेजबहादुर चित्रकारले पोट्रेटलाई अगाडि बढाएका उनी सुनाउँछन् । औँला ढड्याएको पृथ्वीनारायण शाहको चित्र उनै अमर चित्रकारले बनाएका थिए ।

कला समीक्षक खनाल नेपालका क्याम्पसमा सिकाइ पनि व्यवसायिकता हुन नसकेको बताउँछन् । पौभा, दृष्यचित्र, मुहार चित्र, अमूर्त, अरुपण, मिथिला, परम्परागत, परावस्तुवादी चित्रकला, विचारप्रधान, वस्तुवादीलगायत चित्रकलाका विधामध्ये चुनौतीपूर्ण विधाको रूपमा मुहार चित्रलाई लिइन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ०९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले