७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेकपाको दुःखद अवसान : जहाँ आफ्नै पार्टी छिन्नभिन्न हुँदा दीपावली गरियो



काठमाडौं । राजनीतिक दलहरु मिल या फुट भन्ने राजनीतिक निर्णयसहितको सर्वोच्च अदालतको अप्रत्यासित फैसलापछि २०७५ जेठ ३ गते गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छिन्नभिन्न भएको छ । कुनै पनि राजनीतिक दलबीच विचार र सिद्धान्त र नेतृत्व मिले एकता हुने र मिल्न नसके विभाजन हुने लोकतान्त्रिक विधिमाथि सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ । र, सर्वोच्चको फैसलाले नेपालको राजनीतिक गतिविधिमा न्यायालय प्रवेश गरेको नजिर पनि स्थापित भएको छ । भोलिको दिनमा सर्वोच्चको फैसलाले पुर्याउने क्षतिको आंकलन अहिल्यै गर्न नसकिए पनि तत्कालिन अवस्थमा नेकपा एकीकरण पूर्वका पूर्ववत समुह ब्युँतिन बाध्य भएका छन् ।

फुटमा दीपावली
पछिल्लो समय एकीकृत पार्टीप्रति प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र उनको समुह सन्तुष्ट थिएन । विशेष गरी पार्टीभित्र एकलौटी निर्णय प्रक्रियामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले टिप्पणी गर्न थालेपछि ओलीले पार्टी एकता भंग भए होस आफ्नो निर्णयमाथि प्रश्न उठाउने अधिकार कसैलाई छैन भन्ने ढंगले अघि बढ्न थालेका थिए । जसका कारण उत्पन्न विवादले नेकपा गत पुष ५ गतेदेखि नै व्यवहारिक रुपमा फुटिसकेको थियो । तर, नेकपा फुटे पनि विचार मिल्ने शक्तिहरु बीचको एकता कायमै थियो । नेकपाको बहुमत पक्षले एकीकृत पार्टीलाई अघि बढाउने गतिविधि गर्दै थियो । यही बीचमा गोरखाका पुराना कम्युनिष्ट कार्यकर्ता ऋषि कट्टेलले निर्वाचन आयोगमा धेरै पहिला दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग नाम जुधाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटको फैसलाले एकीकृत विचार र सोच भएका नेताहरुलाई समेतसँगै बस्न नदिने फैसला भएको छ । चाहेर पनि यौटै पार्टी बनाउन नसक्ने अवस्था आएको छ । सायद, पार्टी अलग हुनेअवस्थामा नेताहरुको यति धेरै मन कुँढिएको पनि विश्वकै राजनीतिक इतिहासमा यो नै पहिलो घटना होला । राजनीतिशास्त्रमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि नेकपाको यो शैलीको विघटन रुचीयोग्य सन्दर्भ सामाग्री बन्ने पक्का छ ।

सर्वोच्चको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) कानुनतः पुनर्स्थापित भएका छन् । एमाले पुनर्स्थापित गर्नु केपी ओलीको मुख्य ध्येय थियो । र, यो जसरी भएपनि पुरा भएको छ । आफुलाई अप्ठेरो परे कुर्ची भाँच्ने धम्की दिँदै आएका ओली र उनको समुहले, त्यसैकारण, सिंगो पार्टी भाँचिदा दीपावली गरेको छ । यो दीपावली ओली समुहले मात्रै गरेको छैन, नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न होस भन्ने चाहना राख्दै नेताहरुलाई गोटी बनाएर ध्वंसात्मक खेल खेलेको विदेशी शक्तिकेन्द्रले पनि महाविजयको उत्सवको रुपमा दीपावली गरेको छ ।

 

बाध्यात्मक संकट
अदालतको आदेशलाई उल्लंघन गर्नसक्ने अवस्था छैन । त्यसका लागि कि त ठूलो जनआन्दोलन गरी अदालतको रिफर्म आवश्यक छ । जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनपछि त अदालतको ‘रिफर्म’ हुन सकेन भने अहिले दुईचार जना कोही नेतालाई संकट पर्यो भन्दैमा ‘रिफर्म’को हवाई कल्पना सौम्य हुन सक्दैन । अदालतको आदेशलाई लुरुलुरु पालना गर्ने बाहेक अर्को उपाय छैन । पुनरावलोकनको छिद्र बाँकी छ र त्यहाँबाट न्याय पाउन सक्ने आशा भए मात्रै त्यो बाटो उपयुक्त छ । अदालतको आदेशपछि दीपावली गरेको ओली पक्षबाहेक नेकपालाई जुनकुनै नामबाट भएपनि जोगाउनुपर्छ भन्ने उद्देश्य राखेका माधवकुमार नेपाल र प्रचण्डहरु बाध्य भएका छन्, आफ्नो पूर्ववर्त पार्टीमा फर्किनका लागि ।

हुन त नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) नामको पार्टी निर्वाचन आयोगले अरुलाई नै बुझाई सकेको छ । तत्कालिन नेकपाभित्र चरम विवाद सुरु भएपछि गत असारमा केपी ओली निकट सन्ध्या तिवारीलाई नेकपा एमाले दल र उदाउँदो सूर्य चुनाव चिन्ह आयोगले दिएको थियो । माओवादी केन्द्र र चुनाव गोलाकारभित्रको चिन्ह हँसिया हथौडा गोपाल किराँतीलाई दिएको थियो । अब, यी दुई दलबाट नाम र चुनाव चिन्ह अदालतको आदेशअनुसार पुनः खोसेर पूर्ववत पार्टीलाई नै दिने आयोगको तयारी छ । यो प्रक्रियाका लागि सम्भवतः निर्वाचन आयोगले मंगलबार चारै पार्टीलाई पत्राचार गर्दैछ ।

योजनावद्ध तरिकाले सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा एमाले पूर्व एमालेको पोल्टामा पुगेपनि माओवादी केन्द्रको विवाद पुनः सर्वोच्च अदालत नपुग्ला भन्न सकिँदैन । त्यतिबेला संवैधानिक इजलासको फैसलालाई काट्ने गरी दुई न्यायाधीसले फैसला गरेजस्तै नेकपा खारेज गर्दा गरिएको व्याख्यालाई काटेर फेरि अर्को फैसला भयो र प्रचण्डहरुको हातबाट माओवादी केन्द्र खोसियो भने पनि अन्यथा मान्नुपर्ने कारण देखिने छैन ।

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्नु थियो । सबैखाले प्रक्रिया पुरा गरेर त्यो काम पुरा भएको छ । २०७४ असोज १७ गते एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभागृहबाट वामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्ने र पार्टी एकताको प्रक्रिया अघि बढाउने घोषणा गरेका थिए । दुनियाँलाई चक्मा दिने गरी गरिएको सोही घोषणापछि मर्माहत भएका देशी विदेशी शक्तिकेन्द्रहरुले दुई पार्टीबीच एकता हुन नदिन लामो प्रयत्न गरेपनि २०७५ जेठ ३ गते पार्टी एकता भएको थियो । एकतापछि विश्वकै तेस्रो ठूलो शक्तिशाली कम्युनिष्ट पार्टी बन्न सफल भएको थियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाई नजिकको शक्तिशाली सरकार संचालन भएको थियो । तर, एकातिर सत्ता संचालकहरुमा चढेको शासकीय मातले पार्टी संगठनलाई यो तीन वर्षको बीचमा तहस नहस बनायो । अर्कोतिर सत्ता र शक्तिको बलमा निर्वाचन आयोग निरिह बनेर दिएको नेकपा नामलाई सर्वोच्च अदालतले अहिले खारेज गरिदियो ।

शक्तिशाली नेकपा समाप्त होस भनेर चाहेका शक्तिकेन्द्रहरुको इच्छा पुरा भयो । यो इच्छा पुरा गर्न मुख्य दोषी भने नेकपाकै नेताहरु हुन् । अर्थात एमाले र माओवादीकेन्द्रका मुखियाहरु नै हुन् ।

 

निरिह नेपाल
एमालेका अध्यक्ष केपी शर्मा ओली निरंकुश शासनको विरुद्धमा १४ वर्ष जेल विताएको दाबी गरेपनि सत्ताप्राप्ति पछि सबैभन्दा निरंकुश नेता बनेका छन् । आफ्नो गणेश परिक्रमा गर्ने पात्रहरुलाई संरक्षण गर्ने आलोचकहरु र विपक्षी खेमालाई देखिनसहने प्रवृत्ति ओलीमा झन बढी झांगिएको उनकै पार्टीका नेताहरुले बताइरहेका छन् ।

अब ओलीको पार्टीभित्र बस्न बाध्य माधवकुमार नेपाल र झलनाथ खनालहरु झन बढी पेलानमा पर्ने निश्चित छ । ओलीका हुनमान प्रवृतिका अनुयायीहरुले माधव नेपालहरुलाई ‘अपराधी’ करार गरिसकेका छन् । एमालेको संसदीय दलमा निरिह उपस्थिति माधव नेपालहरुका लागि सबैभन्दा पीडाको क्षण बनेको छ । पार्टीमा भने बलियो उपस्थिति रहे पनि बहुमतको डण्डाले ओलीको पेलान निरन्तर जारी रहने पक्का छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोमा ओलीसँग आम्नेसाम्ने टक्कर गर्नसक्ने नेपाल समुह केन्द्रीय कमिटीमा अल्पमतमा छ ।

 

संकटमा प्रचण्ड
अर्कोतिर एमालेसँग पार्टी एकीकरण भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पूर्वसहकर्मीहरुलाई सबैभन्दा बढी अपमान गरेका छन् । युद्धकालदेखि नै प्रचण्डलाई नियन्त्रणमा राखेका केही पात्रहरुलाई बाहेक प्रचण्डले न त आफुलाई संकट पर्दा साथ दिने नेताहरुलाई संरक्षण गर्न सके, नत कार्यकर्ताको व्यवस्थापन गर्न सके, नत एमालेबाट लाभको पदमा नरहेका नेता कार्यकर्ताहरुलाई आकर्षित गर्न नै सके ।
चाकडी र चाप्लुसी गर्नसक्ने, धम्काउन सक्नेहरु नै प्रचण्डको पार्टीमा अहिले पनि शक्तिशाली छन् । भीषण युद्धको बीचमा एकता प्रक्रियामा आएका नेताहरु पाखा पारिएका छन् । गोपाल किराँतीहरुले त्यसै माओवादी केन्द्रको पुनर्गठन गरेका हैनन् । त्यसैकारण प्रचण्डको माओवादी केन्द्र अहिलेको अवस्थामा २०७४ सम्मको शक्तिशाली पनि छैन । ६ महिनाभित्र निर्वाचन हुने हो भने माओवादी केन्द्रले अहिलेको सिट जोगाउन पनि मुस्किल छ ।

यथाशिघ्र पार्टी संगठनको पुनर्निर्माणमा प्रचण्ड अलमलिए भने सो पार्टीको हैसियत नराम्रोसँग खुम्चिन सक्छ । राष्ट्रिय राजनीतिमा अझै केही वर्ष प्रचण्डको नाम शक्तिशाली पोजिशनमै रहेपनि ब्याकफोर्सको रुपमा रहेको संगठन नभएसम्म प्रचण्ड प्रचण्ड हैन पुष्पकमल दाहालमा मात्रै सीमित बन्ने सम्भावना घटनाक्रमले देखाएको छ ।

 

शक्तिको अवसान
चिनियाँ कम्युनिष्ट पार्टी र भियतनाम कम्युनिष्ट पार्टी पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विश्वकै सबैभन्दा शक्तिशाली तेस्रो ठूलो कम्युनिष्ट पार्टी थियो । तर, यो पार्टी आज मूलतः आफ्नै कारणले समाप्त भएको छ । तीन वर्ष अघि शक्तिशाली बनेको पार्टी दुई टुक्रामा कानुनतः विभाजित भए पनि व्यवहारतः तीनै टुक्रामा विभाजित भएको छ ।

पार्टीभित्र शिर्षस्त नेताहरुबीचमा चलेको शक्तिसंघर्षलाई विदेशी शक्तिकेन्द्रले गज्जबले प्रयोग गरेको छ । तर, नेकपा छिन्नभिन्न पार्न लागेको शक्तिकेन्द्रले पनि यति छोटो समयमा सफलता प्राप्त गर्न सकिएला भनेर सोचेको पनि थिएन होला, सायद त्यो शक्ति पनि अचम्मित बनेको छ । नेपालका कम्युनिष्ट नाममा आस्था र विश्वास राख्ने लाखौं समर्थक शुभचिन्तकहरु भने मर्माहत बनेका छन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ११ : ५१ बजे

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री