१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

म्याग्दीको ऐतिहासिक राजकुवा संरक्षणमा चासो



बेनी । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण र मर्मतका लागि स्थानीयवासी जुटेका छन् ।

सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको अत्यन्त महत्वपूर्ण तर षड्यन्त्र र भाइभाइबीचको द्वन्द्वका कारण विवादास्पद मानिएको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो कुवा जीर्ण अवस्थामा पुगेको थियो ।

स्थानीयवासीहरू सहभागी भई राजकुवाको मर्मत तथा सरसफाइ गरेपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाएको छ । स्थानीयवासीले सात दिनसम्म श्रमदान गरेर कुवा संरक्षण र सरसफाइ गरेका हुन् । ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिएको ज्यामरुककोटमा राजकुवालगायत तत्कालीन समयका एक दर्जनभन्दा बढी ऐतिहासिक सम्पदा रहेका छन् ।

यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायतका हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायतका सामग्री रहेका छन् । सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय भएको अर्जुन मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताउका छन् ।

अगुवा कार्कीका अनुसार राजा भर्तिवम मल्लको दरबार भएको स्थानमा निर्माण गरिएको खड्गभवानी कोतमा ५०० वर्ष पुराना ऐतिहासिक हातहतियारलगायत अन्य सामरिक र धार्मिक महत्वका सम्पदा रहेका छन् । पुरातात्विक र ऐतिहासिक महत्वले युक्त ती सम्पदाको संरक्षणमा स्थानीयतहले समेत खासै चासो नदेखाउँदा आफ्नो पहिचान र धरोधर नामेट हुने अवस्थामा पुगेकाले तिनको संरक्षणका लागि आफूहरु अगाडि सरेको स्थानीयवासी कार्कीले बताए ।

सम्पन्न, विद्वान् र राजनीतिक रूपले सक्रिय व्यक्तिको बसोबास रहेको भए पनि ज्यामरुककोटका ऐतिहासिक सम्पदाको संरक्षण र समग्र ज्यामरुककोटको विकासका लागि कसैले केही पनि पहल नगर्दा ज्यूँदो जाग्दो ऐतिहासिक विरासत बोकेको ठाउँ बत्तीमुनिको अँध्यारो बनेको स्थानीयवासीले बताएका छन् ।

तत्कालीन राजा भर्तिवमले आफू र आफ्नो राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६ औँ शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहासिक सम्पदा भए पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा सो सम्पदा अन्य सम्पदाझैँ इतिहासकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको थियो ।

राजा भर्तिवमले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा बनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ । सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भए पनि ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बूढापाकाको भनाइ छ ।

ज्यामरुककोटका ९५ वर्षीय रणबहादुर घिमिरेका अनुसार अन्यत्र खानेपानीका मुहान नहुँदा सात्लेपानीमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दा पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथे । “तामाका गाग्री लिएर टाढाटाढाबाट पनि मानिस पानी भर्न सोही कुवामा आउने गरेका मैले पनि थाहा पाएको हूँ”, घिमिरेले भने, “त्यसअघि सोही कुवामा राजा भर्तिवमले नुहाई त्यहीँबाट लगेको पानी देवतालाई चढाई आफूले प्रयोग गर्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ ।”

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : १० बजे

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ